समाचार
भीरकोट ८ द्धारा जेष्ठ नागरिकलाई न्यानो कपडासंगै स्वास्थ्य परिक्षण
रेडियो आँधीखोला
वालिङ, ३० पौष ।
भीरकोट नगरपालिका वडा नं. ८ ले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रमको सुरुवात गरेको छ । वडामा रहेका ८० वर्ष माथिका ९९ जनालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अनुसार मंगलबारदेखि यस कार्यक्रमको सुभारम्भ गरिएको हो ।
वडाले टोल टोलमा पुगेर जेष्ठ नागरिक सम्मान संगै स्वास्थ्य परिक्षण समेत गरेको छ । वडामा रहेका ५७ जना महिला र ४२ जना पुरुष गरी ९९ जना जेष्ठ नागरिकहरुलाई पुरुषलाई ट्रयाक सुट, महिलाहरुलाई ज्याकेट र ट्राउजर वितरण गरिएको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिकहरुलाई घरघरमै गएर न्यानो कपडा वितरण गरिएको छ भने हिँडडुल गर्नेहरुका लागी टोलटोलमा पुगेर न्यानो कपडा वितरण गरिनेछ । जनप्रतिनिधि र स्वास्थयकर्मीहरुको टोलीले जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच समेत गरेको छ ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीले वडा नं. ८ ले निकै सराहनिय कार्य गरेको भन्दै यस्ता राम्रा कार्यको अनुशरण सबै वडाले गर्ने बताउनुभयो । वडा नं. १ मा पनि जेष्ठ नागरिकहरुका लागी बजेट छुट्याएको र वडामा पनि यस्तै कार्यक्रम गर्ने नगरप्रवक्ता केसीले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण लम्साल, नेपाली कांगे्रसका वडा सभापति खडानन्द दनाल, प्रेम खनाल, विष्णुमाया काफ्लेलगायतले बोल्नुभएको थियो ।
वडा अध्यक्ष खनालका अनुसार वडाले जेष्ठ नागरिक सम्मानका लागी ढेड लाख छुट्याईएको र सोहि बजेटले सम्मान कार्यक्रम गरिएको हो । आगामी वर्षमा ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने निति अनुसार बजेट बढाएर कार्यक्रम गर्ने अध्यक्ष खनालले बताउनुभयो । बालबचत, सुत्केरी पोषणको क्षेत्रमा सकरात्मक कार्य गर्दै आएको वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई हरेक वर्ष संगै अगाड बढाउने अध्यक्ष खनालको भनाई छ । कार्यक्रममा स्वागत वडा सदस्य मनबहादुर एसकेले गर्नुभएको थियो ।
यसैबीच उता वडा नं. ९ ले पनि जेष्ठ नागरिक सम्मान तथा तमू ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा वालिङ नगरपालिका नगरप्रवक्ता तथा वडा अध्यक्ष पदमराज गुरुङले ल्होसारलगायतका जातिय संस्कृतिले समाजमा एकताको भावना विकास गर्ने बताउनुभयो । कार्यक्रममा भीरकोट नगरप्रवक्ता दिपेन्द्र केसी, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भुषाल, विष्णुमाया काफ्ले, कुलबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई दोसल्ला र नगदले सम्मान गरिएको हो । कार्यक्रम वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।