समाचार
नेपाल आदर्श आवासीय माविको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १ फागुन ।
स्याङ्जाको वालिङमा रहेको नेपाल आदर्श आवासीय माध्यमिक विद्यालयले २८ औं वार्षिकोत्सव मनाएको छ । २०५४ सालमा स्थापना भएको र वालिङ ८ मा रहेको विद्यालयले हिजो बिहीबार आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालयका शिक्षक र फाउण्डरहरु ढुक्कसँग निदाउन नहुने बताउनुभयो । विद्यार्थीको भविष्य र अभिभावकहरुको सपना तपाईंहरुको नीदमा आउन जरुरी भएको उहाँको भनाइ थियो ।
“यस्तो भाष्य सरकारी विद्यालयलाई पनि आपसमा राखेर सिकाउन जरुरी छ । यसका लागि मित्रता र सहयोगका आधारमा भावना राखौँ ।” प्याव्सनका अध्यक्ष अधिकारीले भन्नुभयो । मित्रता र सहयोगका आधारमा प्रयत्न गर्नुपर्ने भन्दै त्यति गर्दा पनि सरकारी विद्यालयहरु राम्रो भएनन् भने देशको पूर्ण शिक्षाको जिम्मा लिन डराउन नहुनेमा उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागी उचित योजना बनाएर अगाडि बढेको भन्दै नेपाल आर्दश माविका राम्रा पक्षहरु सबैले अनुसरण गरेर शिक्षा क्षेत्र राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा उत्कृष्ट शिक्षक, कर्मचारीलाई सम्मान गरिएको थियो ।