समाचार
रास्वपाको खुल्ला सभालाई सम्बोधन गर्न प्रसाई आज स्याङ्जा आउने
रेडियो आँधीखोला
वालिङ, १० फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रशाईले स्याङ्जाका विभिन्न स्थानहरुमा हुने खुल्ला सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा रास्वपाले सहप्रवक्ता प्रसाईलाई प्रमुख वक्ताको रुपमा उपस्थित गराई खुल्ला सभा गर्ने भएको छ ।
जिल्लाको आँधिखोला जुग्ले, स्याङ्जा बजार, राङखोला, भीरकोट, वालिङ र गल्याङमा आज आईतबार हुने सभामा प्रशाईले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । यसैबीच क्षेत्र नं. २ का उम्मेदवार झविलाल डुम्रे सहितको चुनावी प्रचारप्रसार टोलीले शनिबार वालिङ १२, १३ र १४ वडाका विभिन्न स्थानहरुमा पुगेर मतदाता भेटघाट तथा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । डुम्रेले अकलादेवि मन्दिरको दर्शनसंगै ति वडाका विभिन्न स्थानहरुमा मतदाता भेट गर्नुभएको हो ।
यसैबीच राप्रपाका उम्मेदवार रविन पाठक सहितको टोलीले गल्याङ ८ र ९ का विभिन्न स्थानहरुमा पुगेर मतदाता भेटघाट तथा चुनावी कार्यक्रम गरेका छन् । कार्यक्रममा समानुपातिक देवकुमारी पराजुली, क्षेत्रिय सचिव पुष्पकमल रेग्मी, गल्याङ अध्यक्ष कमल डुम्रे, युवक संगठनका अध्यक्ष शिविर पौडेललगायतको सहभागिता थियो ।
राप्रपा उम्मेदवार पाठकले ठुला भनिएका पार्टीलाई पटक पटक मौका दिईएपनि देशलाई सहि ढंगले अगाडि बढाउन नसकेको भन्दै यसपटक राप्रपालाई मौका दिन आग्रह गर्नुभयो । सनातन हिन्दु संस्कार र संस्कृतिलाई विलिन बनाउन खोजिएको भन्दै हिन्दु संस्कार सहित नेपाल आमालाई जोगाउन यसपटक राप्रपालाई आफ्नो अभिमत प्रकट गर्न उहाँको आग्रह थियो ।