अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

news

 
२०८२, १८, फागुन  । रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गर्नुभएको छ ।
प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...