समाचार
डा. सैयदद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
रेडियो आँधीखोला
वालिङ, २४ फागुन ।
वरिष्ठ डाक्टर एवं समाजसेवी मनोर दिन सैयदले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गर्नुभएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–७ स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालय मा अध्ययनरत ३९ जना विद्यार्थीहरूका निम्ति शैक्षिक सामग्री (तयारी पोशाक) हस्तान्तरण गर्नुभएको हो ।
विदाको समय भएकाले सैयदले विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थितिमा विद्यार्थीहरूलाई तयारी पोशाक वितरण गर्नुभएको हो । कार्यक्रममा कार्यवहाक वडा अध्यक्ष मोहमद मिया, विद्यालयका प्रधानाध्यापक उदय प्रसाद शर्मा, डा. सैयदका पिता एवं समाजसेवी हाजी नसीब दिन मियाँ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै दाता डा.सैयदले विद्यार्थीहरूको शैक्षिक विकासका लागि सानो सहयोग गरेको बताउनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पढाइमा निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले तयारी पोशाक उपलब्ध गराइएको जानकारी दिनुभयो। उहाँले शिक्षा नै समाज विकासको मुख्य आधार भएकाले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि यस्ता सहयोगात्मक कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक उदय प्रसाद शर्माले विद्यालयका तर्फबाट दाता तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै यस प्रकारको सहयोगले विद्यार्थीहरूलाई थप हौसला मिल्ने बताउनुभयो। उहाँका अनुसार विद्यालयमा अध्ययनरत कतिपय विद्यार्थी आर्थिक समस्याका कारण आवश्यक सामग्री अभावमा पढाइमा कठिनाइ भोगिरहेका छन्। यस्तो अवस्थामा प्राप्त सहयोगले उनीहरूलाई ठूलो राहत मिल्ने उहाँको विश्वास छ ।
कार्यक्रममा सहभागि वक्ताहरुले शिक्षा क्षेत्रमा हुने सहयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउने धारणा व्यक्त गरे । उनीहरूले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहकार्यात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । यस्तै डा. मनोर दिन सैयदले आगामी चैत्र ७ गते शनिबार जिल्लावासीहरूको सेवाका निम्ति भीरकोट नगर अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । उक्त शिविरमा विभिन्न रोगहरूको निःशुल्क परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने बताइएको छ ।