समाचार
कोट कालिका मन्दिरमा १२६ किलो बढीको घण्टी अनवारण गरिँदै
रेडियो आँधीखोला
वालिङ, १२ चैत ।
स्वरेक कोट कालिका देवि मन्दिरमा १२६ किलो बढीको घण्टी अनावरण गरिँदैछ । साविक स्वरेक गाविसबासीहरुको आस्थाको धरोहर कोट कालिका देवि मन्दिरमा दाताहरुको सहयोगमा १२६ किलो ७०० ग्राम र ३० किलो गरी दुई वटा घण्टी र त्रिशुल स्तम्भको संयुक्त रुपमा भोली चैते दशैँको अष्टमीको शुभ अवसरमा अनावरण गरिँदैछ । बाईसे चौविसे राज्य भन्दा पहिले स्थापना भएको कोट कालिका देवि मन्दिरमा कालिका, देवि, भैरव, चण्डी र बज्रको पुजाअर्चना गरिन्छ । विषेश गरी ठुलो दशैँ र चैते दशैँका बेला पञ्च बली दिईने कालिका देवि मन्दिरमा स्वरेकबासीहरुकै सहयोगमा २१ लाख भन्दा बढीको लागतमा उक्त संरचनाहरुको निर्माण गरिएको हो ।
स्व. डिलबहादुर सेनका कान्छा छोरा फ्रान्स आर्मी भरत सेनले कोटमा घण्टी राख्ने इच्छा गर्नुभएकोमा अग्रजहरुसंग सल्लाह गरेर मन्दिरमा घण्टी राख्ने अभियान शुरु भएको थियो । अभियानका अभियन्ता कमल सेनका अनुसार मंसिरदेखि मन्दिरमा घण्टी स्थापनाको लागि सामाजिक संजालबाट यो अभियान शुरु गरिएको थियो । अभियन्ता सेनले भन्नुभयो, “भरत भाईको सपनामा हामीले सहकार्य ग¥यौँ अनि यो अभियानलाई साकार पार्न स्वरेक बासी सबैले मनदेखि सहयोग गर्नुभयो ।
हामीले ३० देखि ३५ किलो सम्मको राख्ने की भनेर अभियान शुरु गरेका थियौँ तर अभियान फराकिलो हुँदै गयौ । दाताहरुले खुलेर सहयोग गर्नुभयो । हामीले झण्डै २१ लाख भन्दा बढी रकम संकलन गर्न सफल भयौँ र दशैँको रामनवमी तिथि पारेर यी संरचनाको अनावरण हुँदैछ ।” फ्रान्स आर्मीमा कार्यरत भरतले मात्रै घण्टी थाम, कालिका मौला र भैरव मौलाको लागि १ लाख ५८ हजार सहयोग गर्नुभएको छ ।
हाल भीरकोट ५ मा रहेको कोट कालिका मन्दिरमा भीरकोट ५ र वालिङ ११ का स्थानीयले पञ्च बलि दिँदै आएका छन् । मन्दिरमा स्थानीय सेन र खांण ठकुरीका कुमार चेलाहरुबाट पूजा गरिन्छ । परापुर्व कालमा पेखुबाट भैरव देवता उडेर आएको र कोटमा विराजमान भएको किम्वदन्ती छ । उक्त समयमा शिला तथा देवता लैजान भनि खन्दै जाँदा झन झन भासिँदै गएको र लामा झाँक्री बोलाउँदा उक्त भैरव शिला कोटमै बस्ने इच्छा गरेको मानिन्छ । उक्त शिला करिव ३ मिटर तल गहिराईमा रहेको र हरेक वर्ष उक्त शिला घुम्ने गरेको स्थानीय बताउँछन् ।
३ मिटर जमिन मुनि रहेका शिलाथानमा वर्षाको समयमा पनि पानी जम्मा हुँदैन । मन्दिर परिसरबाट प्राकृतिक मनोरम दृष्याअवोलकन गर्न सकिन्छ भने आफ्नो मनोकांक्षा पुरा भएपनि भाकल लिएर मन्दिरमा पुजाका लागि भक्तजन आउने गरेको मन्दिरका पूजा व्यवस्थापन समिति अध्यक्ष कृष्ण सेन बताउनुहुन्छ । मन्दिर सम्म पुग्ने ग्रामिण कच्ची सडकको स्तरोन्नति गरी मन्दिर दर्शनका लागी आवातजावतमा सहज भएमा भक्तजनहरु थप आर्कषित हुने अध्यष सेनको भनाई छ ।
भीरकोटको बयरघारी बजारदेखि बगरेबजार हुँदैपनि जान सकिन्छ भने वालिङ बजारदेखि भञ्याङ हुँदै र वालिङ ११ भोर्ले हुँदै गडिभञ्याङबाट समेत कोट कालिका मन्दिर पुग्न सकिन्छ ।