समाचार
नयाँ वर्ष लक्षित एक्स्पो सफल रुपमा सम्पन्न गर्न सरोकारवालासंग छलफल
रेडियो आँधीखोला
वालिङ, १८ चैत ।
नयाँ वर्ष २०८३ को अवसरमा वालिङमा आयोजित पहिलो एक्स्पालाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्न मंगलबार एक्स्पो आयोजक उपसमिति तथा सल्लाहकार, राजनितिक दलका प्रमुखहरुसंग छलफल गरिएको छ । नयाँ वर्ष २०८३ का लाई लक्षित गर्दै लक्षित ओँमकार ईभेन्ट हबले यहि चैत्र २६ गतेदेखि बैसाख २ गतेसम्म वालिङ खेलमैदानमा एक्स्पोको आयोजना गरेको हो । एक्स्पो सम्पन्न गर्न आयोजकले मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेको थियो । गठित विभिन्न उपसमितिका संयोेजकहरु तथा सल्लाहकार समिति र यहाँका प्रमुख राजनितिक दलहरुसंग एक्स्पोलाई सभ्य तरिकाले सम्पन्न गर्न अन्र्तक्रिया तथा छलफलको आयोजना गरेको हो ।
नयाँ वर्षमा गरिएको यो मेलाले यहाँका धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रचारप्रसार गर्दै नेपाली नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने परिपाटीको विकास हुने एक्स्पो मुल आयोजक समितिका संयोजक तथा इभन्ट अबका अध्यक्ष विजय मल्लले बताउनुभयो । इभेन्टका सचिव तथा मेलाका सहसंयोजक विक्रम खांणका अनुसार महोत्सवमा स्थानीय व्यापारी व्यवसायी तथा स्थानीय उत्पादनलाई विषेश प्राथामिकता दिईनेछ । स्थानीय प्रतिभा प्रस्फुटन गर्दै मौलिक कला परम्परालाई प्रर्दशनी गर्ने साझा मञ्चको रुपमा एक्स्पोलाई विकास गर्न खोजिएको खांणले बताउनुभयो । एक्स्पोको मिति नजिकिँदै गर्दा तयारीलाई तिव्र पारिएको छ ।
एक्स्पोमा स्थानीय होटल व्यवसायीलाई ३० प्रतिशत छुट दिईनेछ भने कृषि र उद्यमीलाई निशुल्क स्टल उपलब्ध गराईने इभेन्टका प्रबन्धक नवराज पौडेलले बताउनुभयो । १५० वटा स्टल रहने एक्स्पोमा आईतबारदेखि स्टल निर्माणको कार्य शुरु हुँदैछ । प्रबन्धक पौडेलका अनुसार नयाँ वर्ष २०८३ लाई एक्स्पोमै स्वागत गरिनेछ । चैत्र ३० गते राति १ बजेसम्म एक्स्पोमै नयाँ वर्ष २०८३ लाई स्वागत गरिने अनुमति प्रशासनबाट लिईएको प्रबन्धक पौडेलले बताउनुभयो । नयाँ वर्ष स्वागतका दिन आतिस बाजी प्रर्दशन गरिनेछ भने ओँम लेखिएको दृष्य आकासमा देख्न सकिने आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागिहरुले नयाँ वर्ष लक्षित विषेश पर्वको रुपमा यो एक्स्पोलाई मनाउनुपर्ने भन्दै स्थानीय व्यापारी व्यवसायी र स्थानीय उत्पादन, कला संस्कृतिलाई विषेश प्राथामितामा राख्नुपर्ने बताएका थिए ।