समाचार
वालिङमा विभिन्न रोगको परीक्षणका लागि ३ सय ५० जनाको रगत सङ्कलन
रेडियो आँधीखोला
वालिङ, ३० बैशाख ।
स्याङ्जाको वालिङमा विभिन्न रोगको परीक्षणका लागि ३ सय ५० जनाको रगत सङ्कलन गरिएको छ । लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन र पोखरा सुपर स्पेशियलिटी हेल्थ क्लिनिकको आयोजना तथा लायन्स क्लव अफ वालिङ ग्रीन होमको व्यवस्थापनमा किड्नी, डाएविटिज र थाइरोइडको परीक्षणका लागि नमूना रगत सङ्कलन गरिएको हो ।
आज सङ्कलन गरिएको नमूना रगत पोखरा लगेर परीक्षण गरिने छ । जेठ २ गते वालिङमा सञ्चालन गरिने निःशुल्क हेल्थ क्याम्पमा विशेषज्ञ चिकित्सकहरुद्वारा वृहत स्वास्थ्य परीक्षण तथा परामर्श सेवा कार्यक्रमका लागि नमूना रगत सङ्कलन गरिएको हो । उक्त क्याम्पमा विशेषज्ञ चिकित्कहरुद्वारा निःशुल्क परीक्षण तथा परामर्श गरिने लायन्स क्लव अफ वालिङ ग्रीन होमले जानकारी दिएको छ ।
३ सय जनाको नमूना रगत सङ्कलन गर्ने कार्यक्रम रहेकोमा तोकिएको भन्दा ५० जना धेरैको रगत सङ्कलन गरिएको छ । परीक्षणका लागि नमूना रगत दिनेहरुमा अधिकांश महिला रहेका छन् । नमुना रगत सङकलन गरिएकाहरुमा २ सय २३ जना महिला र १ सय २७ जना पुरुष रहेका छन् भने परीक्षणका लागि पोखरा पठाइएको लायन्स क्लव अफ वालिङ ग्रीन होमका जोन चेयर पर्शन माधव कँडेलले जानकारी दिए ।
वालिङस्थित सिटीहलमा गरिएको नमूना रगत सङ्कलन कार्यक्रममा पोखरा सुपर स्पेशियलिटी हेल्थ क्लिनिकबाट आएका प्राविधिकहरु खटिएका थिए । बृहत स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम जेठ २ गते विहान ९ बजेदेखि वालिङस्थित सिटीहलमा नै गरिने आयोजकले जनाएको छ ।