समाचार
मूल्य पारदर्शिताको बिषयमा वालिङमा सचेतनामूलक अन्तरक्रिया
रेडियो आँधीखोला
वालिङ, ९ जेठ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिका र एकिकृत सेवा कार्यालय स्याङ्जासँगको समन्वयमा वालिङमा अन्र्तक्रिया सम्पन्न भएको छ । मूल्य पारदर्शिताको बिषयमा ब्यवसायी र उपभोक्ताहरुमा सचेतना फैलाउने उद्देश्यले नियामक निकाय र उद्योगी ब्यापारी ब्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले मुल्य पारदर्शिताले उपभोक्ता र व्यापारी दुवै पक्षलाई फाईदा हुने भन्दै हरेक क्षेत्रमा पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न ब्यवसायिक समस्या र अधिकतम खुद्रा मूल्य सम्बन्धमा उद्योगी ब्यापारी ब्यवसायीहरुका जिज्ञाशाहरुको विषयमा कार्यालयका प्रमुख पौडेल, वालिङ नगरपालिकाका लेखा अधिकृत भोजराज बगाले र उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका अवसरमा मुख्य गरी अण्डर बिलिङको समस्या, पुरानो स्टकको मूल्यमा समस्या, दररेटको ट्याग हस्तलिखित हुन नहुने लगायतका बिषयउपर छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघबाट विभिन्न समयमा अधिकतम खुद्रा मूल्य, मूल्य सूची, करपाटी, उपभोग्य म्याद गुज्रेका सामान बिक्री नगर्ने, सम्बन्धित निकायहरुमा दर्ता गर्ने र समयमै नवीकरण गर्नुपर्नेलगायतका सचेतनामूलक जानकारी ब्यवसायीहलाई दिँदै आएको बताउनुभयो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनुपमा तिवारीले स्वागत र सञ्चालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।