समाचार
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन
रेडियो आँधीखोला
वालिङ, १० जेठ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाप्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन ‘एकद्वार प्रणाली’ लागू गरेपछि सेवाग्राहीले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवा छोटो समयमै पाउन थालेका छन् ।
नयाँ प्रणाली लागू भएसँगै प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले अब मेसिनबाट टोकन लिएपछि एउटै कक्षमार्फत सेवा पाउने व्यवस्था गरिएको छ । आवश्यक कागजात पूरा भएका सेवाग्राहीले पाँचदेखि १० मिनेटभित्रै नागरिकता पाउन थालेको प्रशासनको दाबी छ । यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन पुग्ने सेवाग्राहीले दिनभर लाइन बस्नुपर्ने, कागजात नमिल्दा फेरि फर्किनुपर्ने र कतिपय अवस्थामा होटलमै बस्नुपर्ने अवस्था थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले कागजात पूरा भएका सेवाग्राहीलाई १० मिनेटमै सेवा दिन सकिने अवस्था बनेको बताउनुभयो । दुई वर्षअघि लागू भएको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीका कारण वडाबाट अनलाइनमार्फत पठाइएका विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया थप सहज बनेको नायब सुब्बा रामप्रसाद पौडेलले बताउनुभयो ।
लामो समयदेखि सरकारी कार्यालयमा ‘पहुँच’ र ‘चिनजान’ को प्रभाव हुने गुनासो सुनिँदै आएको अवस्थामा स्याङ्जा प्रशासनले सुरु गरेको यो अभ्यासलाई अहिले सेवामैत्री शासनतर्फको महत्वपूर्ण कदमका रूपमा सेवाग्राहीले हेरेका छन् ।