समाचार
पत्रकारका लागि एआईको प्रयोग सम्बन्धि तालिम
रेडियो आँधीखोला,
वालिङ १६ जेठ ।
स्याङ्जाको वालिङमा दुई दिने मल्टिमिडिया सम्बन्धी तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाको आयोजना तथा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालय, पोखराको सहयोगमा मिडियामा एआई -आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सुरु भएको हो ।
वालिङ १०, भकुण्डेस्थित होटल भेनसमा आयोजित एक विशेष समारोहका बीच वालिङ नगरपालिकाका उपप्रमुख कविता गैरे तिवारीले कार्यक्रमको समुद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा तिवारीले आधुनिक पत्रकारितामा प्रविधिको उच्चतम् प्रयोग अपरिहार्य रहेको र यस तालिमले स्थानीय पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै उपप्रमुख तिवारीले विश्व नै डिजिटल युग र एआई तर्फ अगाडि बढि रहेका बेला राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई पनि प्रविधिमैत्रि बनाई एआईको प्रयोगबाट छिटो, सहज र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो । प्रविधि र एआईको सहि सदुपयोग हुनुपर्ने भन्दै पत्रकारहरुले सँधै सत्य र तथ्यमा आधारित रहेर पत्रकारितालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जन पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले प्रविधिको विकाससँगै पत्रकारहरूले आफ्नो कार्यशैलीमा परिमार्जन गर्नुपर्ने र एआई जस्ता औजारहरूलाई रचनात्मक तथा व्यावसायिक पत्रकारिताका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कर्यक्रम नेपाल पत्रकार महासङ्घ स्याङ्जाका वरिष्ठ उपाध्यक्ष माधव गैरेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासङ्घका सहसचिव कला रानाले गर्नुभएको थियो।
भोलीसम्म सञ्चालन हुने तालिमको मुख्य प्रशिक्षकमा नेपाली रेडियो नेटवर्कका संस्थापक एवं वरिष्ठ पत्रकार जीवन भण्डारी रहनुभएको छ । प्रशिक्षक भण्डारीले मिडियामा एआईको बढ्दो प्रभाव, यसका अवसर, चुनौती र मल्टिमिडिया सामग्री उत्पादनमा एआई टुल्सहरूको व्यावहारिक प्रयोगबारे प्रशिक्षण प्रदान गर्नुभएको छ ।
तालिममा स्याङ्जाका आमसञ्चार माध्यममा सक्रिय रूपमा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने यस अभिमुखीकरणले सहभागी पत्रकारहरूलाई डिजिटल माध्यम र नवप्रविधिको प्रयोगमा थप दक्ष बनाउने आयोजकले जनाएको छ ।