अहिले तरंगमा

केहि छिनमा

समाचार

पुतलीबजारमा जिल्लाकै पहिलो बधशाला सञ्चालनमा

news

 
वालिङ, २२ जेठ । 
स्याङ्जाको पुतलीबजारमा जिल्लाकै पहिलो व्यवस्थित र आधुनिक बधशाला सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकार र पुतलीबजार नगरपालिकाको संयुक्त लगानी, समन्वय तथा प्राविधिक सहकार्यमा यस क्षेत्रमै पहिलो बधशाला बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । 
विगत लामो समयदेखि आँधीखोला किनारमा जथाभावी र अव्यवस्थितरूपमा भैंसी बध गर्ने कार्यले निम्त्याएको बेथिति र दुर्गन्धलाई सदाका लागि अन्त्य गर्दै उपभोक्तालाई गुणस्तरीय, स्वच्छ र सफा मासु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ यो बधशालाको सुरुवात गरिएको पशु चिकित्सक डाक्टर अनिल चौधरीले जानकारी दिनुभयो । 
पुतलीबजार नगरपालिका वडा नं. १ स्थित मालेबगर खेलमैदान नजिकै निर्माण गरिएको यस आधुनिक बधशालामा सुरुवातमा भैंसी बध गरी मासु बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको छ । बजारको मुख्य हिस्सा ओगट्ने आँधीखोला किनारको खुल्ला क्षेत्रमा पशु बध गर्दा बजारभरि दुर्गन्ध फैलिएको भन्दै स्थानीय नागरिकबाट जनगुनासो आउने गरेको थियो । 
नागरिकको सोही स्वास्थ्य सरोकार र गुनासोलाई सम्बोधन गर्न सुरुमा प्रदेश सरकारले पूर्वाधार निर्माणको थालनी गरेको थियो । पछि सोही योजनालाई पालिकाले अपनत्व गर्दै थप लगानी, आवश्यक उपकरण र प्रशासनिक व्यवस्थापन सहित सञ्चालनमा ल्याइएको डाक्टर चौधरीले बताउनुभयो । 
खुल्ला ठाउँमा हुने ढल र रगतको असुरक्षित विसर्जनलाई रोक्न बधशालाभित्रै फोहरमैला व्यवस्थापनको उचित प्रविधि जडान गरिएको छ, जसले गर्दा नजिकै रहेको खेलमैदान र आसपासको बस्तीलाई कुनै असर पर्ने छैन । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...