समाचार
अर्जुनचौपारीको ४७ करोड ९४ लाखभन्दा बढीको बजेट
वालिङ, १० असार ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ४७ करोड ९४ लाख २४ हजार रुपैयाँको बजेट प्रक्षेपण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सपना गुरुङले उक्त बजेट वक्तव्य सभामा प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३२ करोड ७० लाख ९० हजार रुपैयाँ (६८.२३ प्रतिशत) र पुँजीगततर्फ १५ करोड २३ लाख ३४ हजार रुपैयाँ (३१.७७ प्रतिशत) विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि राजस्व बाँडफाँड तथा आन्तरिक स्रोततर्फ १६ करोड ९१ लाख ५२ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३१ करोड २ लाख ७२ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ ।
बजेट वक्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष गुरुङले चालु आर्थिक वर्ष २०८२÷०८३ को जेष्ठ मसान्तसम्म कुल बजेटको ६८.१५ प्रतिशत खर्च भइसकेको जानकारी दिनुभयो । चालु आवमा ८० लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा जेष्ठ मसान्तसम्म ७५ लाख ४९ हजार १ सय ५० रुपैयाँ संकलन भइसकेको छ ।
गाउँपालिकाले “साझा प्रतिबद्धता, साझा जिम्मेवारी, हामी सबैको सपना समुन्नत अर्जुनचौपारी“ को मूल लक्ष्यसहित गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, दिगो पूर्वाधार र पर्यटन प्रवद्र्धनलाई बजेटको मुख्य प्राथमिकतामा राखेको छ । गाउँपालिकाका ६ वटै वडाहरूको समानुपातिक विकासका लागि कुल २ करोड २ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको ।
विद्यालय शिक्षा सुधार, भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि २ करोड ९० लाख रुपैयाँ छुट्ट्याइएको छ। साथै, (कृत्रिम बौद्धिकता) आधारित सिकाइ र प्रविधिमैत्री शिक्षाका लागि ५० लाख रुपैयाँ तथा दिवा खाजामा गाउँपालिकाको तर्फबाट प्रतिविद्यार्थी ५ रुपैयाँ थप गर्ने व्यवस्था मिलाइएको छ ।
पूर्वाधार तथा सडक स्तरोन्नतिः गाउँपालिकाको सदरमुकामदेखि वडा नम्बर ५ को कार्यालयसम्म पक्की सडक विस्तारका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पिपलडाँडा–तालपोखरी–दोभानखोला सडकका लागि २ करोड ५० लाख र अर्जुनचौपारी–छापा–सल्यान–आग्रिखर्क मोटरबाटोका लागि बहुवर्षीय योजना स्वरूप २ करोड ५० लाख रुपैयाँ सुनिश्चित गरिएको छ । वडा नं. ६ को कार्यालय भवन पक्की बनाउन १ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको छ । सडक सुरक्षा पूर्वाधारका लागि १ करोड रुपैयाँ छुट्ट्याइएको छ ।