समाचार
वालिङ उद्योग वाणिज्य संघको १९औं साधारणसभा तथा नवौँ अधिवेशन सुरु
रेडियो आँधीखोला
वालिङ, १३ असार ।
वालिङ उद्योग वाणिज्य संघको १९औं वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको उद्दघाटन समारोह सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्नुभएको हो । उद्घाटनका अवसरमा वैद्यले निजी क्षेत्रको विकास र व्यवसायीहरूका हकहितका लागि महासंघ सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले वर्तमान आर्थिक चुनौतीहरूलाई सामना गर्न राज्य र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले स्थानीय उत्पादनको प्रवद्र्धन र बजार व्यवस्थापनमा उद्योग वाणिज्य संघले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभयो । त्यस्तै, पूर्व सांसद मोहन रेग्मीले वालिङ क्षेत्रको समग्र विकासका लागि उद्योगी व्यवसायीहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी नेतृत्वले पनि सोही अनुरूप काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाणले नगरको आर्थिक विकास र समृद्धिका लागि नगरपालिका र उद्योग वाणिज्य संघ सधैँ हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानीय स्तरमा व्यवसायमैत्री वातावरण निर्माण गर्न नगरपालिका लागिपरेको बताउनुभयो । संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रमेश अर्याल र धन्यवाद वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानाले गर्नुभएको थियो । उद्घाटन सत्रमा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । नवौँ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।