समाचार
स्याङ्जामा असार अन्तिम आईपुग्दा ७० प्रतिशत रोपाइँ
रेडियो आँधीखोला
वालिङ, ३० असार ।
स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्ये करिब ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सोमबारसम्म जिल्लामा धान खेति हुने क्षेत्रफल १६ हजार हेक्टर मध्ये ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । ११ पालिका रहेको जिल्लामा फेँदिखोला, आँधीखोला, अर्जुनचौपारी र पुलतीबजारमा ८० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाका ति भेगहरुमा रोपाइँ छिटो शुरु गर्छन भने यहाँको गल्याङ, चापाकोट बेल्टमा भने साउन अन्तिम सम्म पनि रोपाइँ गरिन्छ । यहाँ उन्नत जात मध्ये रामधाम, साबित्रिजस्ता धानहरु लगाईन्छ भने रैथाने अनदी, काला नमक जातका धानपनि लगाइन्छ ।
विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरुले उन्ननत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएका छन् ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।