समाचार
भीरकोट ६ का कृष्ण बोटेको घरमा उज्यालो छायो
वालिङ, ३२ असार ।
निकै कष्टकर जिवन बिताईरहनुभएका स्याङ्जाको भीरकोट नगरपालिका–६ का कृष्ण बोटेको घरमा अहिले बिजुली बलेको छ । शारिरिक अपांगता र आर्थिक अभावसँग जुधिरहेका माझी (बोटे) समुदायका कृष्ण महिनौँदेखि अँध्यारो कोठाको भुइँमै रात बिताइरहनुभएको थियो । । घरमा आधारभूत सामग्रीसमेत नहुँदा दैनिक गुजारा चलाउन पनि उहांलाई निकै कठिन भइरहेको थियो ।
हाल जापानमा रहनुभएका भीरकोट–८ खोरबार निवासी प्रकाश खत्रीले आर्थिक सहयोग गरेपछि बोटेको घरमा उज्यालो छाएको हो । स्थानीय बाबुराजा खत्रीमार्फत १६ हजार रुपैयाँ सहयोग पठाउएपछि बोटेको जिवन केहि सहज भएको हो । खत्रिको सहयोगबाट कृष्णको घरमा सबैभन्दा पहिले काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ । बक्यौता महसुल र नयाँ मिटर जडान बापत ३ हजार ५ सय ८ रुपैयाँ भुक्तानी गरि बोटेको घरमा उज्यालो बलेको हो ।
सहयोग रकमबाट कृष्णलाई एक सेट पलङ, खाना पकाउने भाँडाकुँडा, बाल्टी, सिरक तथा अन्य आवश्यक घरायसी सामग्री पनि खरिद गरी उहांको घरमै पु¥याईएको समाजसेवी बाबुराजा खत्रिले बताउनुभयो । यो अभियानमा स्थानीय समाजका विभिन्न व्यक्ति र संस्थाले पनि साथ दिएका थिए । सहयोग समन्वय भीरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण), भाग्योदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ अर्याल तथा समाजसेवी बाबुराजा खत्रीले गर्नुभएको हो । । उहांहरूले वालिङस्थित बुटवल पावर कम्पनी (बिपिसी)को कार्यालय पुगेर महसुल तिर्ने, नयाँ मिटर जडान गराउने तथा आवश्यक सामग्री खरिद गरी कृष्णको घरसम्म पु¥याउने काममा अग्रसरता लिनुभएको हो । ।
लायन्स क्लबले एक बोरा चामल, दाल, तेल, मसला लगायतका खाद्यान्न सहयोग गरेको छ । सफल फर्निचरले डसना, सिरानी र तन्नासहितको बिस्तारा उपलब्ध गराएको थियो भने केसी भाँडा पसलले थाल, कचौरा र गिलास सहयोग गरेको छ ।
सामान ढुवानीका लागि भीरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले सहयोग गर्नुभएको छ । नेपाल टेलिभिजनबाट स्याङ्जाका संवादाता हिमाल न्यौपानेले बोटेको दयनीय अवस्थाको रिर्पोटिङ गर्नुभएको थियो । उहाँको समाचार सामाग्रीले जापानबाट सहयोग आउने र स्थानीय समाजसेवीलाई पनि सहयोग तथा समन्वय गर्ने अवस्था मिल्यो र बोटेको जीवनमा उज्यालो छाएको हो ।