समाचार
स्याङ्जामा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु,
रेडियो आँधीखोला,
वालिङ ३२ असार ।
स्याङ्जाको गल्याङ नगरपालिकामा पहिरोले गोठ पुरिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ६, बनपाले बस्ने ६५ वर्षीय धन बहादुर थापा रहनुभएको छ ।
प्रहरीका अनुसार आज -असार ३२ गते) बिहान अन्दाजी ५ः०० बजेको समयमा गोठ माथिबाट आएको पहिरोले गोठ पुरिँदा थापाको पनि मृत्यु भएको हो । थापाले ढुङ्गा, माटोले बनेको र खरले छाएको १ तले कच्ची गोठमा काम गरिरहनुभएको थियो ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी पिँडीखोला, स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक पदम बहादुर थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान पुगेको थियो । बिहान अन्दाजी ६ः४५ बजे घटनास्थल पुगेको प्रहरी टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा पहिरो हटाउँदा धन बहादुर थापा मृत अवस्थामा फेला भेटिनुभएको हो ।
पहिरोमा परी गोठभित्र रहेको एउटा भैँसी समेत मरेको छ भने एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान तथा बुझ्ने कार्य गरिरहेको जनाएको छ ।