समाचार
वालिङ नगरपालिकाद्धारा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु
वालिङ, ६ साउन ।
वालिङ नगरपालिकाले नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन कार्य सुरु गरेको छ । भूमि समस्या समाधान आयोगले यहि साउन ४ गते गोरखापत्रमा जारी गरेको ३५ दिने सूचना अनुसार नगरपालिकाले यो प्रक्रिया अगाडि बढाएको हो ।
नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत भोजराज बगालेले जारी गरेको सूचना अनुसार वालिङ नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई आवश्यक प्रमाण तथा कागजातसहित सम्बन्धित वडा कार्यालयमा गएर निवेदन÷फारम भर्न आग्रह गरिएको छ । फारम भदौ ६ गतेसम्म भर्न सकिने जनाईएको छ ।
फारम भर्नका लागि परिवारका सबै सदस्यहरूको नागरिकताको प्रतिलिपि, १८ वर्ष मुनिका सदस्यहरूको हकमा जन्मदर्ताको प्रतिलिपि, घरमुली तथा श्रीमान÷श्रीमतीको १÷१ प्रति पासपोर्ट साइजको फोटो, घरमुली वा श्रीमान÷श्रीमतीको मृत्यु भइसकेको अवस्थामा मृत्युदर्ताको प्रतिलिपि आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । स्थानीय तहले सम्बन्धित वडा कार्यालयमार्फत समयमै तोकिएका कागजातसहित उपस्थित भई लगत संकलन प्रक्रियामा सहभागी हुन नगरबासीलाई अनुरोध गरेको छ । भुमि आयोगले गण्डकी प्रदेशका स्याङ्जाका ८ पालिका सहित म्याग्दी, मुस्ताङ, बाग्लुङ, मनाङ, पर्वत, गोरखाका विभिन्न पालिकालाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न भनेको थियो ।