समाचार
साउनको दोस्रो सोमबार ६८ हजार ९८१ रुपैँया भेटि संकलन
रेडियो आँधीखोला
वालिङ, १२ साउन ।
स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउनको सोमबार ६८ हजार ९८१ रुपैँया भेटि संकलन भएको छ । साउनको महिना भगवान शिवको प्रिय महिना भएकाले साउनको महिनाभर शाकाहारी भोजन गरी सोमबार शिवको पूजाआराधना गर्ने गरिन्छ । भगवान शिवको पूजा आरधाना गरेमा परिवमार सुख, शान्ति समृद्धि प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरु साउनको सोमबार शिव मन्दिरमा गई स्नान तथा पूजा पाठ गर्ने गर्दछन् ।
४ ओटा सोमबार परेको यसपटकको साउनको दोस्रो सोमबारका अवसरमा गौमुख धाराबाट १५ हजार ५, आजिवन सदस्यताबाट १० हजार १०५, सहयोग रसिदबाट १० ह्जार १२६, दानपेटिकाबाट १३ हजार ३०० र भजन मण्डलीबाट २० हजार ४४५ रुपैँया भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो ।
साउन महिनाको हरेक सोमबार र हरिशयनी एकादशीका अवसरमा महाआरती गर्ने कार्यक्रम अनुसार आज बेलुका ७ बजेबाट महाआरती तथा भजनकृतन गरिनेछ । आफ्ना दिवंगतको सम्झना, जन्मदिन वा अन्य विषेश अवसरमा मन्दिरमा भक्तजनहरुले पनि महाआरती गराउने सक्नेछन् ।
यसरी विभिन्न पर्वहरुमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिशूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ ।