समाचार
स्याङ्जामा गाई जात्रा पर्व मनाईयो, आज रोपाइँजात्रा गरिँदै
रेडियो आँधीखोला
वालिङ, १४ भदौ ।
गाई जात्रा पर्वको अवसरमा स्याङ्जाका विभिन्न स्थानहरुमा गाईजात्रा प्रर्दशन गरिएको छ । विषेश गरी नेवार समुदायको बाहुल्यता रहेको स्थानहरुमा हिजो गाईजात्रा पर्व मनाईएको छ । यहाँको स्याङ्जा सदरमुकाम, वालिङ र भुम्रेमा गाईजात्रा प्रर्दशन गरिएको छ । बितेको एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झना र आत्मशान्तिको कामना गर्दै गाईजात्रा (सापारू) निकाल्ने परम्परा नेवार समुदायमा रहेको छ् ।
दिवंगत पितृको नाममा गाई वा मानिसलाई गाईका रूपमा सिंगारेर नगर वालिङ नगर परिक्रमा गराइएको थियो। वालिङ बजार तथा भुम्रे क्षेत्रका मुख्य–मुख्य चोक परिक्रमा गर्दै निकालिएको झाँकीमा स्थानीयवासी, नेवार समुदायका अगुवा, तथा युवा–युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो । झाँकीमा घिन्ताङघिसी नाच, परम्परागत बाजागाजा र सांस्कृतिक वेषभूषा प्रस्तुत गरिएको थियो ।
गाईजात्रा पर्वको सुरुवात मल्लकालबाट भएको मानिन्छ । गाईजात्रा शोक मनाउने पर्व मात्र नभई व्यङ्ग्य, प्रहसन र हास्यमार्फत शोकलाई भुलाउने माध्यम पनि हो । यस पर्वले समाजमा रहेका विकृति–विसङ्गतिमाथि व्यङ्ग्य गर्दै भाइचारा र एकता कायम राख्न मद्दत गर्दछ ।
भुम्रे नेवा समाजका अध्यक्ष ताराप्रसाद श्रेष्ठका अनुसार आफ्ना पुर्खाले जोगाएर ल्याएको यो ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न हरेक वर्ष यसरी नै जात्रा आयोजना गरिँदै आएको छ । त्यस्तै आज रोपाइँ जात्रा र भोली बाघ जात्रा प्रर्दशन गरिनेछ ।