समाचार
बिरुवा गाउँपालिकाद्वारा बाढीपीडितका लागि ३० लाखभन्दा बढी राहत रकम सहयोग
रेडियो आँधीखोला
वालिङ, १७ भदौ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुगेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितका लागि रु. ३० लाख ७५ हजार ५८ सहयोग गर्ने भएको छ ।
गाउँ कार्यपालिकाको आज बसेको बैठककोे निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप राहत तथा उद्धार कोषमा जमा गरिने भएको हो। स्थानीय विपद् व्यवस्थापन कोषबाट ५ लाख, जनप्रतिनिधिहरूबाट (१० दिनको सेवा सुविधा) बापत २ लाख ३ हजार ४५०, गाउँपालिकाका कर्मचारीहरूबाट अधिकृत स्तरका कर्मचारीको ७ दिन, सहायक स्तरका कर्मचारीको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिनको तलब गरी ४ लाख ९९ हजार ६४५, शिक्षक तथा विद्यालय कर्मचारीहरूबाट माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका शिक्षक तथा बालविकास सहजकर्ता एवम् विद्यालय सहयोगीहरूको २ देखि ७ दिनसम्मको तलब गरी १८ लाख ७१ ह्जार ९६३ गरी उक्त रकम सहयोग गर्ने भएको हो ।
विपद्को यस कठिन घडीमा सम्पूर्ण निकाय, व्यक्ति र संघ–संस्थाहरूसँग सहकार्य गर्दै उद्धार तथा राहतका काममा एकजुट हुन गाउँपालिकाले सबैमा अपिल गरेको छ । उक्त रकम २०८३ भाद्र मसान्तभित्र कोषमा जम्मा गरिने जानकारी दिइएको छ ।
त्यस्तै यता वालिङ १ रामाबाच्छा स्थित कानुङ मगर समाजले पनि बाढी प्रभावितहरुका लागि ४९ हजार १५ रुपैँया प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। समाजका अध्यक्ष ख्यामबहादुर आलेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष नेपाल बैंकमा उक्त रकम जम्मा गरेको हो ।
त्यस्तै वालिङ फेन्सी व्यवसायी संघ र नेपाल स्वयंसेवक सञ्जालको संयुुक्त प्रयासमा वालिङमा संकलन गरिएको राहत सामग्री प्रभावित क्षेत्र पठाईएको छ । सञ्जालका सदस्य दिपक भुषाल सहितको टिमले नुवाकोटको विदुरमा विभिन्न सामग्री हस्तान्तरण गरेको बताउनुभएको छ । रसुवा क्षेत्रमा सडक अफ्ट्यारो भएकोले नुवाकोटको एउटा स्थानीय वडामा राहत सामग्री हस्तान्तरण गरिएको भुषालले बताउनुभएको छ । त्यस्तै यहाँका विभिन्न विद्यालयहरुले पनि राहत रकम संकलन गरेका छन् ।
गल्याङ ३ मा रहेको चिराग सेकेण्डरी बोर्डिङ स्कूलले विद्यालयको तर्फबाट संस्थागत रुपमा, शिक्षकहरुबाट संकलित र विद्यार्थीहरुबाट संकलित रकम गरी कुल १ लाख ८५ हजार १८० रुपैँया राष्ट्रिय वाणिज्य बंैकमा रहेका प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका पिन्सीपल गंगाप्रसाद श्रेष्ठले बताउनुभयो । स्याङ्जाका अन्य संघसंस्थाहरुले पनि बाढी प्रभावितका लागि सहयोग संकलन गरेका छन् ।