समाचार
व्यापारीको समस्या बुझ्न घरदैलो गर्दै उद्योग वाणिज्य संघ
रेडियो आँधीखोला
वालिङ, २५ असोज ।
व्यापारी व्यवसायीहरको समस्या बुझ्न वालिङ उद्योग वाणिज्य संघले घरदैलो अभियान शुरु गरेको छ । शनिबारदेखि यहाँका बजारमा रहेका हरेक पसलहरुमा उद्योग वाणिज्य संघको टोली पुगेर र व्यापारी व्यवसायीका समस्या नजिकबाट बुझ्ने तथा व्यवसायिक सचेतना प्रदान गर्ने हेतूले यो अभियान शुरु गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले बताउनुभयो । स्याङ्जाको प्रमख व्यापारिक केन्द्र मानिएको वालिङ बजारमा पछिल्लो समय व्यवसायिक चहलपहल कम भएको व्यापारीहरुको गुनासो छ ।
छिमेकी जिल्ला पर्वतबासीको समेत आर्कषणको बजार वालिङमा केहि वर्षयता व्यापारिक चहलपहल घटेको भन्दै यसका लागि उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेल्न आग्रह गरेको छ । साथै दर्ता नभएका घुम्ती पसल, सडक पेटिमा राखिने व्यापारीक गतिविधिले सरकारलाई कर तिरेर, सटर भाडा तिरेर विधिवत रुपमा पसल संचालन गरेका व्यापारीलाई प्रत्यक्ष असर परेको उनीहरुको गुनासो थियो ।
संघका अध्यक्ष अनुपमा ढुंगानाको नेतृत्वमा शुरु गरिएको घरदैलो अभियानमा व्यावासायिक दर्ता, स्थायी लेखा नम्बर पान देखिने गरी राख्न, मुल्य सूीच अनिवार्य राख्न, उपभोग्य मिति भएका खाद्य वस्तुको मात्रै विक्रि गर्न साथै यदि उपभोग्य वस्तुको मिति गुज्रिएको अवस्थामा एक्सपायरी जोन निर्माण गरी अलग्गै राख्न, नापतौलका उपकरण चुस्तदुरुस्त राख्न, समयमै मुल्य अभिवृद्धि कर, अन्तशुल्क कर, आयकर आफ्नो व्यवसाय अनुसार कर बुझाउन,
व्यापारिक कर बैंक मार्फत गर्न, सरसफाईमा ध्यान दिन, पसल बिमा गर्नलगायतका सचेतनामुलक पर्चा पम्प्लेट समेत वितरण गरिएको कार्यालय प्रमुख बाबुराम रेग्मीले बताउनुभयो । घरदैलो कार्यक्रममा संघ तथा महिला उद्यमी विकास समितिका पदाधिकारीको समेत सहभागिता रहेको थियो ।