अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

यस वर्षको बडादशैँ आजदेखि शुरु

news

 
२५ असोज । 
यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । अशोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । योसँगै नवरात्र शुरु हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कात्तिक ४ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने गरिन्छ ।
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 
शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ । असोज ३१ गते शनिबार फूलपाती परेको छ । कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ ।
कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ । कात्तिक ३ गते मङ्गलबार महानवमी र ४ गते विजयादशमी परेको छ । दशैँ शुरु भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्कनेको चहलपहल पनि शुरु भएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...