समाचार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान अन्तर्गत स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
रेडियो आँधीखोला
वालिङ, २६ असोज ।
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियानअन्तर्गत स्याङ्जामा ट्राफिक प्रहरीले ‘स्मरण कार्यक्रम’ सुरु गरेको छ । दसैं, तिहार र छठमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत उच्च हुने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक, सहचालक र यात्रुलाई लक्षित गर्दै सडक सुरक्षा अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत जिल्लाका मुख्य सडक, राजमार्ग तथा ग्रामिण सडकमा चल्ने छोटो र लामो दूरीका सवारीसाधनका चालक, सहचालक र यात्रुलाई ट्राफिक नियम तथा सुरक्षित यात्राका उपायबारे जानकारी दिन थालिएको छ । प्रहरीले विशेषगरी तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्ने र लामो दूरीका सवारीमा दुई जना चालक भए–नभएको विषयमा निगरानी बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले चाडपर्वमा घर फर्किने यात्रुको यात्रा सुरक्षित बनाउन अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार चालकको लापरबाही र ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य हो ।
‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने सन्देशसहित चालकलाई तीव्र गतिमा सवारी नचलाउन र यात्रुलाई क्षमताभन्दा बढी यात्रु राखिएका सवारीमा यात्रा नगर्न आग्रह गरिएको शाहीले बताए । नियम उल्लंघन गर्ने चालकलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।
यात्राका क्रममा अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान, आफ्ना सामानको सुरक्षा गर्न र सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिएमा वा चालकले लापरबाही गरेमा तत्काल प्रहरीलाई जानकारी गराउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
यात्रु तथा सर्वसाधारणले समस्या परेमा नजिकको ट्राफिक प्रहरी वा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न सक्नेछन् । प्रहरीले चाडपर्वको खुसीयालीलाई दुर्घटनाका कारण दुःखमा परिणत हुन नदिन चालक, यात्रु र यातायात व्यवसायी सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।