समाचार
पूर्णामृतमा दुई करोड बढीको लागतमा क्यान्टिन भवन निर्माण सुरु
वालिङ, २६ असोज ।
स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा दुई करोड १४ लाख रुपैयाँभन्दा बढीको लागतमा तीन तले क्यान्टिन भवन निर्माण सुरु गरिएको छ । लायन्स क्लब ३२५ एम नेपाल र विद्यालयको लागत साझेदारीमा हंगर रिलिफ कार्यक्रम अन्तर्गत क्यान्टिन भवन निर्माण थालिएको हो ।
कुल लागतमध्ये लायन्स क्लब अन्तर्राष्ट्रियको एक करोड ६४ लाख र विद्यालयको ५२ लाख रुपैयाँ योगदान रहनेछ । उक्त भवनको आइतबार वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण र लायन्स क्लब ३२५ एम नेपालका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्यालले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख खाँणले पूर्णामृत भवानी माविको सकारात्मक पक्षको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्व वहन गरी सहयोग पु¥याएकोमा लायन्स क्लबलाई धन्यवाद दिनुभयो ।
त्यस्तै, लायन्स क्लबका पूर्व अध्यक्ष अर्यालले लायन्स सदस्यहरूले आफ्नो खाजा खर्च तथा फजुल खर्च कटौती गरेर सामाजिक एवं मानवीय सेवाका कार्यहरू गर्दै आएको बताउनुभयो । उहाँले यस आयोजनाले विद्यालय र लायन्स क्लबबीचको सम्बन्धलाई थप सुदृढ बनाएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटीका पूर्व अध्यक्ष चेतनारायण श्रेष्ठ, लायन्स क्लब अफ वालिङ ग्रिन होमका पूर्व अध्यक्ष सजना कोईराला कडेल, लायन्स क्लब भीरकोटका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारी, सशस्त्र प्रहरी ३० नं गुल्मका गुल्मपति लक्ष्मण बस्नेत, १० नं वडाका वडा सदस्य गंगा शर्मा, समाजसेवी राजेन्द्रप्रसाद गैह«े, शिक्षक अभिभावक संघका अध्यक्ष मनमाया खनाललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
प्रधानाध्यापक दीपक लम्सालका अनुसार आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको तीन तले भवनको पहिलो तलामा सवारी पार्किङ, दोस्रो तलामा क्यान्टिन तथा कोठाहरू र तेस्रो तलामा करिब एक हजार जना अट्ने क्षमताको भव्य सभाहल रहनेछ ।