समाचार
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
रेडियो आँधीखोला
वालिङ, २८ असोज ।
जिल्ला प्रशासन कार्यालयले आफ्नै इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको भवनमा इजलास कक्ष यसअघि नै निर्माण गरिएको भए पनि लामो समयदेखि प्रयोगमा आएको थिएन । आवश्यक मर्मतसम्भार गरेपछि कक्ष सञ्चालनमा ल्याएर त्यहीँबाट मुद्दाको सुनुवाइ थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार प्रशासनमा सञ्चालन हुने इजलास अदालतको जस्तै संरचनामा आधारित हुन्छ । तर प्रशासनिक र न्यायिक कार्यक्षेत्रअनुसार यसको काम गर्ने प्रक्रिया केही फरक हुने उहांले बताउनुभयो । ‘अदालत र प्रशासनमा स्थापना गरिएको इजलास कक्ष उस्तै हुन्छ,’ सुवेदीले भन्नुभयोे, ‘कामको प्रकृति र अधिकारक्षेत्रअनुसार कार्यविधिमा भने केही फरक हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार कानुनले प्रमुख जिल्ला अधिकारीलाई हेर्ने अधिकार दिएको मुद्दाको सुनुवाइ अब इजलास कक्षबाटै गर्न सकिनेछ । सार्वजनिक अपराध, हातहतियार, कालोबजारी, अभद्र व्यवहार, जुवालगायतका मुद्दामा बहस, पैरवी तथा फैसला इजलासबाट हुने उहांले बताउनुभयो ।
इजलास कक्षमा सुविधायुक्त कठघरा तथा सुनुवाइका लागि आवश्यक संरचना राखिएको छ । यसअघि छुट्टै इजलास कक्षको अभावमा मुद्दाको अनुसन्धान तथा सुनुवाइका क्रममा असहजता हुँदै आएको प्रशासनले जनाएको छ ।
यसैबीच, चालु आर्थिक वर्ष २०८३÷८४ मा हालसम्म जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पाँचवटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा ६ वटा मुद्दा फछ्र्योट गरिएको छ भने ७ वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको प्रशासनले जनाएको छ । दर्ता भएका मुद्दामध्ये साउनमा ३ र भदौमा २ वटा रहेका छन् । यस्तै, सोही अवधिमा जिल्ला प्रशासन कार्यालयमा ४१ वटा ठाडा उजुरीसमेत दर्ता भएको कार्यालयले जनाएको छ ।