अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाका विभिन्न तिर्थस्थलहरुमा हरिबोधनी एकादशी मेला, राम्दीमा भक्तजनको उल्लेख्य सहभागिता

news

 
रेडियो आँधीखोला 
वालिङ, ५ मंसिर । 
हन्दू धर्मावलम्बीहरूको महान पर्व हरिबोधनी एकादशीका अवसरमा स्याङ्जा जिल्लाका विभिन्न तीर्थस्थल तथा नदी किनारहरूमा परम्परागत मेला सम्पन्न भएको छ । विशेषगरी शिवालय मन्दिर, कालीगण्डकी, आँधीखोला लगायतका क्षेत्रहरूमा एकादशीका दिन स्नान गर्ने, फूल बेलपत्रको तोरण तार्ने र स्नान एवम् दर्शन गर्न भक्तजनहरूको उपस्थिति रहने गर्दछ ।
एकादशीका अवसरमा यहाँका प्रमुख धार्मिकस्थलहरू जस्तै भीरकोटको छायाँक्षेत्र शिव मन्दिर, आँधीखोलाको आँधीमूल बाराही मन्दिर, चापाकोटको केलादीघाट, ज्याग्दीघाट, सेतीवेणी शिलाशालिग्राम र गल्याङको राम्दीघाट लगायतका क्षेत्रमा विशेष चहलपहल रह्यो । विषेशगरी राम्दीमा भक्तजनहरुको निकै उल्लासमय सहभागिता रह्यो । राम्दीमा जारी धार्मिक महोत्सव तथा राम्दीको महिमा थप विस्तार भएसंगै हरिबोधनी एकादशीका अवसरमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको हो । 
यता स्याङ्जाको प्रसिद्ध शिव मन्दिर छायाँक्षेत्र मन्दिरमा पनि एकादशी मेलाका अवसरमा ८३ हजार ८८१ रुपैँया भेटि संकलन भएको छ । मन्दिर व्यवस्थाापन समितिका सहसचिव शोभाकान्त पौडेलका अनुसार मजन मण्डली तथा मुल मन्दिरबाट ४५ हजार २१५, सहयोग रसिदबाट १३ हजार ८६६, व्यापारिक स्टलबाट ३ हजार ७५०, दानपेटिकाबाट २१ ह्जार ५० गरी उक्त भेटि संकलन भएको सहसचिव पौडेलले बताउनुभयो । यसपटकको एकादशीका अवसरमा भने छाङछाङदीमा विगतमा जस्तो भिडभाड देखिएन् । 
पौराणिक मान्यता अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिनदेखि चार महिनासम्म क्षीरसागरमा योगनिद्रामा रहनुभएका भगवान विष्णु कार्तिक शुक्ल एकादशीका दिन जाग्नुहुन्छ भन्ने पौराणिक भनाई छ । भगवान जाग्ने यो दिनलाई’ हरिबोधनी’ वा ’प्रबोधिनी एकादशी’ भनिन्छ । यसै दिनदेखि सुरु हुने चतुर्मासभर बन्द गरिएका सम्पूर्ण मांगलिक कार्यहरू (विवाह, व्रतबन्ध, गृहप्रवेश आदि) खुलाइने गरिन्छ ।
यस दिन घरका आँगनमा वा मठमा रोपेको तुलसीको पूजाआजा गरी भगवान विष्णु (दामोदर) सँग विवाह गरिदिने परम्परा छ । तुलसी र शालिग्रामको विवाह तथा पूजा गर्नाले जीवनमा ठूलो पुण्य प्राप्त हुने, पाप नाश हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । 
हरिबोधनी एकादशीका अवसरमा लागेका मेलामा स्थानीय स्तरमा उत्पादित घरेलु तथा कृषि उपजहरूको बिक्रीवितरण भएको छ । विषेशगरी कालीगण्डकी नदि किनारमा लागेको मेलामा माटोबाट बनेका विभिन्न भाँडाकुँडा, बाँसको चोयाबाट तयार पारिएका डाला, नाङ्लो तथा अन्य स्थानीय हस्तकलाका सामानहरू खरिदबिक्री भएका छन् भने  चिसो मौसमको सुरुवातमै पाक्ने उँखू र स्थानीय स्तरमै बन्ने सख्खर (गुड) को व्यापार पनि भएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...