समाचार
स्याङ्जाका विभिन्न तिर्थस्थलहरुमा हरिबोधनी एकादशी मेला लाग्दै
रेडियो आँधीखोला
वालिङ, ३ मंसिर ।
हिन्दू धर्मावलम्बीहरूको महान पर्व हरिबोधनी एकादशीका अवसरमा स्याङ्जा जिल्लाका विभिन्न तीर्थस्थल तथा नदी किनारहरूमा परम्परागत मेला लाग्ने भएको छ । विशेषगरी शिवालय मन्दिर, कालीगण्डकी, आँधीखोला लगायतका क्षेत्रहरूमा एकादशीका दिन स्नान गर्ने, फूल बेल बेलपत्रको तोरण तार्ने र स्नान एवम् दर्शन गर्न भक्तजनहरूको उपस्थिति रहने गर्दछ ।
यस दिन जिल्लाका प्रमुख धार्मिकस्थलहरू जस्तै भीरकोटको छायाँक्षेत्र शिव मन्दिर, आँधीखोलाको आँधीमूल बाराही मन्दिर, चापाकोटको केलादीघाट, ज्याग्दीघाट, सेतीवेणी शिलाशालिग्राम र गल्याङको राम्दीघाट लगायतका क्षेत्रमा विशेष चहलपहल हुने गर्दछ । एकादशीको रात जाग्राम बस्ने र भजनकीर्तनको साथमा धार्मिक अनुष्ठान गर्ने परम्परा छ ।
यता स्याङ्जाको प्रसिद्ध शिव मन्दिर छायाँक्षेत्र मन्दिरमा पनि एकादशी मेलाको तयारी तिव्र पारिएको छ । मन्दिर सरसफाई तथा आवश्यक तयारी गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । मन्दिरमा विभिन्न पर्वहरुमा लाग्ने मेलाका अवसरमा स्थानीय उत्पादनहरुले पनि बजार पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विषेशगरी यहाँका उँखु, तरुल, सखर, गुडलगायतका खाद्य वस्तुहरुको बजारीकरणका लागि मेलाले सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पौराणिक मान्यता अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिनदेखि चार महिनासम्म क्षीरसागरमा योगनिद्रामा रहनुभएका भगवान विष्णु कार्तिक शुक्ल एकादशीका दिन जाग्नुहुन्छ भन्ने पौराणिक भनाई छ । भगवान जाग्ने यो दिनलाई’ हरिबोधनी’ वा ’प्रबोधिनी एकादशी’ भनिन्छ । यसै दिनदेखि सुरु हुने चतुर्मासभर बन्द गरिएका सम्पूर्ण मांगलिक कार्यहरू (विवाह, व्रतबन्ध, गृहप्रवेश आदि) खुलाइने गरिन्छ ।
यस दिन घरका आँगनमा वा मठमा रोपेको तुलसीको पूजाआजा गरी भगवान विष्णु (दामोदर) सँग विवाह गरिदिने परम्परा छ । तुलसी र शालिग्रामको विवाह तथा पूजा गर्नाले जीवनमा ठूलो पुण्य प्राप्त हुने, पाप नाश हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । निराहार वा फलाहर व्रत बस्ने र भगवान विष्णुको आराधना गर्ने भक्तजनहरूले मनोकांक्षा पूरा हुने र फल प्राप्त गर्दछन् भन्ने मान्यता रहिआएको छ ।
हरिबोधनी एकादशी मेलाको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय स्तरमा उत्पादित घरेलु तथा कृषि उपजहरूको बिक्रीवितरण हो । विषेशगरी कालीगण्डकी नदि किनारमा लाग्ने मेलाका अवसरमा माटोबाट बनेका विभिन्न भाँडाकुँडा, बाँसको चोयाबाट तयार पारिएका डाला, नाङ्लो तथा अन्य स्थानीय हस्तकलाका सामानहरू खरिदबिक्री हुने गर्दछन् । यस्तै, चिसो मौसमको सुरुवातमै पाक्ने उँखू र स्थानीय स्तरमै बन्ने सख्खर (गुड) को व्यापार यस मेलाको अर्को आकर्षण हो । यी परम्परागत वस्तुहरूको खरिदबिक्रीले स्थानीय अर्थतन्त्र र मौलिक संस्कृतिको जगेर्नामा योगदान पुर्याउँदै आएको छ ।
यसैबीच हरिबोधनी एकादशीका अवसरमा स्याङ्जाको एक पालिकाले सार्वजानिक विदा दिएको छ । चापाकोट नगरपालिकाले मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशीका अवसरमा सार्वजानिक विदा दिएको हो । नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उदयराज देवकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा एकादशीका दिन नगरपालिका तथा नगरपालिका अन्र्तगत रहेका सरकारी कार्यालहरु, सामुदायिक विद्यालय, सार्वजानिक संघसंस्थामा सार्वजानिक विदा दिईएको उल्लेख गरिएको छ ।