समाचार
पुतलीबजारमा एचपिभि खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम
वालिङ, ११ असोज ।
पुतलीबजार नगरपालिकाको आयोजनामा एचपिभि खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले एचपिभि खोपलाई किशोरीको स्वास्थ्य सुरक्षासँगै पाठेघरको मुखको क्यान्सर रोकथामको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने गरी रोकथाम र सचेतनामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो। नगर प्रमुख रेग्मीले भन्नुभयो । “रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने वातावरण निर्माण गर्नु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी हो । खोपबारे रहेका भ्रम र गलत धारणालाई चिर्दै किशोरी तथा अभिभावकसम्म सही र वैज्ञानिक जानकारी पु¥याउन आवश्यक छ।”
उहाँले पुतलीबजार नगरपालिकाले खोप सेवा विस्तार, स्वास्थ्य सचेतना, किशोरी तथा महिलाको स्वास्थ्य सुरक्षा र विभिन्न रोगको रोकथाममा केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेल्थ असिस्टेन्ट नविन मरासिनीले खोपको आवश्यकता, महत्व, लक्षित उमेर समूह, खोपको प्रभावकारिता तथा पाठेघरको मुखको क्यान्सरबाट बच्न अपनाउनुपर्ने सावधानीबारे प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रमको सहजीकरण स्वास्थ्य अधिकृत ईश्वर थापाले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखको क्यान्सरका ९५ प्रतिशतभन्दा बढी घटना एचपिभि संक्रमणसँग सम्बन्धित छन । एचपिभि विरुद्धको खोपले संक्रमण तथा पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन मद्दत गर्छ । ९ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको प्राथमिक लक्षित समूह मानेको छ । पुतलीबजार नगरपालिकाले उपचारमा मात्र नभई रोगको रोकथाम, स्वास्थ्य शिक्षा र जनचेतनालाई प्राथमिकता दिँदै स्वस्थ नागरिक निर्माणलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाएको छ ।