अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को निर्वाचन आज विहान ८ बजेबाट

news

 
रेडियो आँधीखोला
वालिङ, १६ असोज । 
नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं. २ तथा प्रदेश २ (क) र (ख) को स्थगित मतदान कार्य आज पुनः सञ्चालन हुने भएको छ । निर्वाचन समितिका अनुसार असोज १३ गते सुरु भएको मतदान कार्य पूर्ण रूपमा सम्पन्न नभई स्थगित भएको थियो । कुल मतदातामध्ये ५१ प्रतिशतले पनि मतदान गर्न नसकेको अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिको परिपत्र अनुसार पुनः मतदान गराउने निर्णय गरिएको हो ।   
स्याङ्जा जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालाद्वारा जारी सूचना अनुसार, आज बिहान ८ः०० बजेदेखि वालिङ खेल मैदानमा पुनः सुचारु हुनेछ ।   निर्वाचन समितिले प्रतिनिधि सभा क्षेत्र नं. २ तथा प्रदेश सभा (क) र (ख) का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई समयमै उपस्थित भई मतदानमा सहभागी हुन आग्रह गरेको छ । साथै, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय, पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समेत अपिल गरिएको छ ।
यसअघि १३ गते खसेको मत पुर्ण रुपमा रद्ध गरी पुनः मतदान हुने भएको हो । विहिबार पुन मतदानका विषयमा जिल्ला सभापति राजु थापा सहित क्षेत्र नं. २ का शिर्ष नेताहरु बीच बैठक बसेको थियो उक्त बैठकमा मतदाता नामावली यसअघि १२ गते प्रकाशन गरिएकालाई नै कायम गरिने, पुन उम्मेदवारी नलिने, मतदान समय विहान ८ देखि ५ सम्म गरिनेलगायतका निर्णयहरु गरेको छ ।
यसैबीच क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले जारी गरेको प्रेस नोट र तत्पश्चात् उत्पन्न विवादका बिच पार्टीका शीर्ष तथा स्थानीय नेताहरूले संयुक्त प्रेस नोट जारी गर्दै शुक्रबार बिहान ८ः०० बजेदेखि निष्पक्ष र मर्यादित रूपमा मतदान सुरु हुने जानकारी गराएका हुन्।   
असोज १३ गते भइरहेको निर्वाचनमा राति अबेरसम्म मतदाताहरूलाई कष्टपूर्ण मतदान गराउनुभन्दा भोलिपल्ट बिहानै प्रारम्भ गर्ने सहमति भएको थियो। तर, १५ गते निर्वाचन सञ्चालन गर्ने सहमति अनुसार तयारी अघि बढे पनि राजनीतिक छलछाम, दाउपेच, र केन्द्रीय निर्वाचन समितिमा उजुरी पर्ने जस्ता घटनाक्रमले अधिवेशन प्रक्रिया प्रभावित बनेको थियो। सोही परिप्रेक्ष्यमा क्षेत्रीय सभापति खाँणले १५ औँ महाधिवेशनको प्रक्रियाबाट अलग रहेको घोषणा गर्नुभएको थियो।   
नेताहरूले सभापति खाँणको उक्त निर्णय राजनीतिक दुराग्रह र पार्टीभित्रको विकृतिप्रतिको असन्तुष्टि भएको उल्लेख गर्दै उहाँलाई पनि लोकतान्त्रिक प्रक्रियामा सक्रिय भई अधिवेशन सफल पार्न आग्रह गरेका छन्।   संयुक्त प्रेस नोटमा केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, पूर्व प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, प्रदेश सभापति अर्जुनप्रसाद खनालका साथै चापाकोट, गल्याङ, वालिङ, भिरकोट नगर समिति र कालीगण्डकी गाउँ समितिका सभापतिहरूले हस्ताक्षर गर्दै सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता अनुसार मतदानमा सहभागी हुन अपिल गरेका छन्।
यस्तै नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले आफू पार्टीको जिम्मेवारी र भूमिकाबाट अलग नभएको स्पष्ट पार्नुभएको छ । २०८३ असोज १५ गते जारी प्रेस विज्ञप्तिबारे पार्टीका केन्द्रदेखि विभिन्न तहका अग्रज नेता तथा साथीहरूले राखेको गम्भीर चासो र साँझ जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण गराउँदै सभापति खाँणले आफ्नो भनाइ स्पष्ट पार्नुभएको हो।   
उहाँले १५ औँ महाधिवेशनको प्रक्रियाका सन्दर्भमा मात्र सहभागी नहुने आशय व्यक्त गरिएको तर पार्टीको समग्र भूमिकाबाट भने अलग रहने कुनै सोच नरहेको स्पष्ट पार्नुभयो। पार्टीभित्र क्षणमै सहमति र क्षणमै विमति गर्ने ’राजनीतिक बेईमानी र छद्मभेषी प्रवृत्ति’ प्रति आफ्नो असन्तुष्टि र रोष रहेको उल्लेख गर्दै उहाँले सो प्रवृत्तिप्रति आज पनि खेद व्यक्त गर्नुभएको छ।   नेता तथा साथीहरूको भावनालाई आत्मसात गर्दै आज हुने निर्वाचनमा सक्रिय नेतृत्व गर्ने सङ्कल्प व्यक्त गर्दै सभापति खाँणले सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन हार्दिक अपिल गर्नुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...