समाचार
काँग्रेसको महाधिवेशन ः क्षेत्र नं. २ को मतदान स्थगित, पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
रेडियो आँधीखोला
वालिङ, १५ असोज ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत स्याङ्जा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा भएको मतदान कार्य पूर्ण रूपमा सम्पन्न नभई स्थगित भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको महाधिवेशनका लागि असोज १३ गते सुरु भएको मतदान कार्य बीचमै रोकिएको हो। उक्त निर्वाचनमा ५१ प्रतिशत मतदाताले मात्र मतदान गरेको र बाँकी मतदाताले मतदान गर्न नपाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
यस परिस्थिति, यथार्थता र मतदाताको सहभागितालाई मध्यनजर गर्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई पत्र पठाइएको छ। समितिले अब सबै मतदातालाई विधिवत् रूपमा जानकारी गराएर पुनः मतदानको सम्पूर्ण प्रक्रिया अगाडि बढाउन अनुरोध तथा निर्देशन गरेको छ।