अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

२९ वर्षदेखि फरार लागूऔषध मुद्धाका युवक कारागार चलान

 
रेडियो आँधीखोला
वालिङ, १४ असोज । 
लागू औषध (चरेस) मुद्दामा अदालतबाट दोषी ठहर भई विगत २९ वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले पाल्पाबाट पक्राउ गरी कारागार चलान गरेको छ । साविक स्याङ्जाको चण्डीभञ्ज्याङ गाविस–७ (हाल पाल्पा जिल्लाको तानसेन नगरपालिका–६) बस्ने नारायणप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको हो।
विक्रम संवत् २०५४ साल कात्तिक १९ गते पाल्पा प्रहरीले गोप्य सूचनाका आधारमा तानसेन–६ स्थित श्रेष्ठको घरकोठामा खानतलासी गर्दा १ किलो २५० ग्राम लागू औषध चरेस बरामद गरेको थियो। प्रहरी प्रतिवेदनका आधारमा दायर मुद्दामा अनुसन्धान पश्चात् पाल्पा जिल्ला अदालतले २०५६ असार ३० गते श्रेष्ठलाई सफाइ दिने फैसला गरेको थियो।
तर, उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन दर्ता भएपछि साविक पुनरावेदन अदालत बुटवलले २०५७ असार १ गते जिल्ला अदालतको फैसला उल्टाउँदै श्रेष्ठलाई ६ महिना कैद सजाय हुने फैसला सुनाएको थियो।
अदालतको फैसलापछि प्रहरी हिरासतमा बसेको दिन कट्टा गरी श्रेष्ठले ४ महिना २२ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतको लगत अभिलेखमा उल्लेख थियो। सोही लगतका आधारमा फरार प्रतिवादीको खोजीमा खटिएको वडा प्रहरी कार्यालय वालिङको टोलीले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रताप पौडेलको कमाण्डमा श्रेष्ठलाई असोज १० गते पाल्पाको तानसेन–६ स्थित बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका श्रेष्ठलाई कैद सजाय भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार कारागार कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...