समाचार
आज वालिङ साँस्कृतिक साँझ हुँदै
रेडियो आँधीखोला
वालिङ, ३० असोज ।
स्याङ्जाको वालिङमा दशैँको रौनकमा सप्तक संगीत डान्स स्टुडियोको आयोजनामा वालिङ साँस्कृतिक साँझ २०८३ कार्यक्रम गरिने भएको छ । स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपाल बालगृह सहयोगार्थ साँस्कृतिक साँझ कार्यक्रम गर्न लागिएको हो । ख्याति प्राप्त स्थानिय कलाकार तथा नृत्यकारहरुको प्रस्तुति रहनेगरी बालगृहलाई सहयोग गर्ने पुण्य उदेश्यसहित साँझ कार्यक्रम गर्न लागिएको सप्तक संगीत डान्स स्टुडियोका सञ्चालक देवराज गैह्रेले बताउनुभयो ।
दोस्रोपटक आयोजना गर्न लागिएको साँस्कृतिक साँझ कार्यक्रम यही असोज ३० गते वालिङ, ८ मुक्तिनाथ विकास बैंक अगाडी दिउँसो ३ बजेदेखी राती १० बजे सम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रमलाई सफल बनाउन गोर्खा बु्रअरी मुख्य प्रायोजक रहेको छ भने मुख्य सहयोगीका रुपमा वालिङ नगरपालिका रहेको छ । यस्तै एक दिनको साँस्कृतिक साँझको प्रथा इको भिलेज हस्पिटालिटी पार्टनर रहेको सञ्चालक गैह्रेले जनाकारी दिनुभयो ।
उक्त कार्यक्रममा गोपाल जी.टी., अर्जन गैह्रे, नेत्र खड्का, राजेश भण्डारी, शीला गुरुङ, नम्रता थापा, रोशन चापागाई लगायतका कलाकरहरुको बेजोड प्रस्तुति रहनेछ भने नम्रता थापा, आयुषा खत्री, जस्मिन थापा, निस्मा खनाल, अर्जिका बरालको नृत्य एवम् बाल गायक सुभास गोतामेको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै अमोर सेवाका भाइबहिनीहरुको समेत प्रस्तुति रहने सञ्चालन गैह्रेले जानकारी दिनुभयो ।
सप्तक संगीत डान्स स्टुडियोको नियमित कार्यक्रम अन्तर्गत वालिङ साँस्कृति साँझ २०८३ मार्फत वर्षमा १२ वटा कार्यक्रम गर्नेगरी गत साउनदेखि शुरु भएको कार्यक्रम यो दोस्रो पटक गर्न लागिएको गैह्रेले बताउनुभयो । विभिन्न सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य अनुरुप गरिएको कार्यक्रम यसपटक आयोजना गरिएको कार्यक्रममा संकलित रकमको केही हिस्सा बालगृहलाई प्रदान गरिने उहाँको भनाई छ ।
जिल्लाका विभिन्न स्थानमा पुगेर १२ कार्यक्रम यो वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । वि.सं.२०७६ सालमा स्थापना भएको सप्तक संगीत डान्स स्टुडियोले हाल सांस्कृतिक कार्यक्रम मात्रै नभएर प्रतिभा प्रस्फुटन गर्न स्टेज प्रदान गर्ने, खेलकुदका गतिविधीहरु, स्वास्थ्य, मनोरञ्जनका कार्यक्रमहरु, अर्गानिक खानाका परिकार समेत पस्कदै आएको छ ।