अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन

news

 
वालिङ, १ कार्तिक । 
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, कालोबजारी, ठगी तथा सवारी दुर्घटना नियन्त्रण गर्न जिल्लाका ३४ प्रहरी युनिटमा कार्यरत ट्राफिकसहित ४२५ प्रहरी परिचालन गएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार चाडपर्व अवधिभर नियमित गस्ती, पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन र आवश्यकताअनुसार तत्काल परिचालन हुने द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) तयारी अवस्थामा राखिएका छन् । बजार, मुख्य सडक, संवेदनशील क्षेत्र, धार्मिक तथा पर्यटकीय स्थल र जिल्ला प्रवेश नाकामा निगरानी बढाइएकोे उहांले बताउनुभयो ।
चाडपर्वका बेला जुवातास, लङ्गुरबुर्जा, पटका तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोग, अवैध मदिरा तथा लागुऔषधको कारोबार नियन्त्रणमा समेत प्रहरीले विशेष निगरानी गरेको छ ।  जिल्लाका बसपार्क तथा मुख्य बजार क्षेत्रमा यात्रु सहायता कक्ष सञ्चालन गरी यात्रुलाई सहयोग गर्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि निगरानी गरिएको प्रहरीले जनाएको छ ।।
 बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसल रहेका क्षेत्रमा नियमित गस्ती र सादा पोसाकका प्रहरी परिचालन भएका छन् । जिल्लाका प्रमुख नाका तथा चेकजाँचस्थलमा निगरानी बढाउनुका साथै आवश्यकताअनुसार ट्राफिक प्रहरीसहित संयुक्त जाँच गरिएको छ ।।
सम्भावित खाद्यवस्तुको कृत्रिम अभाव, कालोबजारी र म्याद गुज्रिएका वा गुणस्तरहीन सामानको बिक्री नियन्त्रण गर्न जिल्ला प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिएको र बजारहरुको अनुमगन समेत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले चाडपर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी परिचालनसँगै नागरिकको सहयोग पनि आवश्यक रहेको बताउनुभयो । उहांले घर छाडेर बाहिर जाँदा ढोका राम्रोसँग बन्द गर्न, बहुमूल्य सामान सुरक्षित राख्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ । कुनै शंकास्पद गतिविधि वा आपराधिक घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा जानकारी गराउन सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...