समाचार
कन्या आधारभूत विद्यालयलाई ५७ हजार रुपैयाँ सहयोग
रेडियो आँधीखोला
वालिङ, २ कार्तिक ।
स्याङ्जाको वालिङ नगरपालिका–५, आरुपाटास्थित कन्या आधारभूत विद्यालयलाई खानेपानी व्यवस्थापन तथा शैक्षिक स्तरउन्नतिका लागि ५७ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । वालिङ–५, सिरवानी निवासी युवा समाजसेवी मेखबहादुर थापाका कान्छा छोरा इमान थापा र बुहारी शिला थापा मगरले उक्त रकम सहयोग गर्नुभएको हो। हाल अमेरिकामा रहनुभएका थापा दम्पती सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ।
२०४० सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा ५ सम्म ४२ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा तीन शिक्षक दरबन्दी, एक जना कर्मचारी, एक जना बालविकास (ईसीडी) शिक्षक तथा एक जना निजी स्रोतका शिक्षक कार्यरत छन्। विद्यालयको खानेपानी व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले प्रदान गरिएको आर्थिक सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।