समाचार
गह्रौँशुर मन्दिरमा भक्तजनको चहलपहल बढ्दै
रेडियो आँधीखोला
वालिङ, २ कार्तिक ।
स्याङ्जा जिल्लाको वालिङ र गल्याङको सिमानामा रहेको प्रसिद्ध गह्रौँसुर मन्दिर (गह्रौँ कालिका मन्दिर) भक्तजनहरुको चहलपहल बढेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिको कोणबाट ठूलो महत्व रहेको मन्दिर सम्म पुग्न सहज सडक मन्दिर परिसरमा निर्माण भएका आर्कषक भौतिक संरचनाले आन्तरिक तथा बाह्य पर्यटक आर्कर्षित भएका छन् ।
विषेश गरी बडादशैँ र चैते दशैँमा विषेश मेला लाग्ने मन्दिर दर्शन तथा घुम्नका लागि अन्य समयमा पनि भक्तजनहरु मन्दिर पुग्ने गरेका छन् । यसपटकको दशैँमा गतवर्ष भन्दा भक्तजनको उपस्थिति कम देखिएको छ । यस पटक शुक्र अस्त भएका कारण नयाँ भाकल गर्नेहरु कम देखिएका छन् भने दर्शनका लागि भने भक्तजनहरु मन्दिरमा आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
गएको असोज २८ गते बुधबार दिउँसो १ बजेर ४० मिनेटमा पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ बजेर ४९ मिनेटमा उदय हुने पात्रोमा उल्लेख छ । वृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ तर नियमित पुजाअर्चना गरिन्छ । यसपटक दुईवटा अष्टमी परेकाले आजै मन्दिरमा कालरात्रि गरिँदैछ । गतवर्ष भन्दा यो वर्षको दशैँमा भक्तजनको आवागमन कम देखिएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो ।
गह्रौँशुर मन्दिरलाई चौबिसे राजा दशरथ खाँणले वि.सं. १५५२ मा स्थापना गरेको विश्वास गरिन्छ। यसका कारण प्राचीन इतिहास, राजा–महाराजाको पालाको वास्तुकला र सांस्कृतिक परम्परालाई झल्काउँछ । गह्रौँसुरमा अवस्थित कालिका मन्दिर यस क्षेत्रकै अत्यन्त प्रसिद्ध शक्तिपीठहरूमध्ये एक मानिन्छ। यहाँ विशेष गरी बडादसैँको नवदुर्गा, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनहरूको भारी भीड लाग्ने गर्दछ र देवीको दर्शन तथा विशेष पूजाआजा गरिन्छ ।
पछिल्लो समय यो मन्दिर धार्मिक पर्यटनको एक प्रमुख आकर्षणको रूपमा विकसित हुँदै आएको छ । यहाँ चिटिक्क परेको प्रवेशद्वार, दृश्यावलोकन केन्द्र र सफा तथा व्यवस्थित भौतिक संरचनाहरू निर्माण गरिएका छन् जसले पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ । समुद्र सतहबाट करिब १६ सय मिटरको उचाइमा रहेको यस डाँडाबाट स्याङ्जाका अधिकांश भू–भागका साथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी र पर्वत जस्ता छिमेकी जिल्लाहरूको सुन्दर दृश्य सहजै अवलोकन गर्न सकिन्छ ।