अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दशैँमा पिङ संस्कृतिलाई जोगाउँदै स्याङ्जाका युवा

news

 
रेडियो आँधीखोला
वालिङ, ३ कार्तिक । 
वडादशैँ नजिकिएसंगै गाँउघरमा लिङ्गे पिङ र पिर्के पिङको रौनक हुने गथ्र्यो । दशैँको वास्तविक रौनक गाउँमै हुन्थ्यो तर आजभोली नेपालीहरुको संस्कृति र परम्परासंग जोडिएका पर्वहरुमा दशक अगाडिको जस्तो रौनक भने हुँदैन् । खरबारीमा गएर बाबियो काट्ने, डोरी बाट्ने, पिर्के पिङका लागि जंगलमा काठ काट्ने पिङ बनाउने यस्तो दृष्य आजभोली गाउँघरमा देखिन छाडेको छ । पछिल्लो समय युवा विदेश पलायन हुनु, शिक्षा, बसाईँसराई, पश्चिमा संस्कृतिको प्रभाव, जन्मदर कम हुँनु, प्रविधिको बढ्दो विकास हुँदै जाँदा मौलिक संस्कृतिमा चासो कम हुनुलगायतका कारण नेपालीहरुले मनाउने पर्वहरुमा विगतको जस्तो रौनक कम हुँदै गएको हो । 
दशैँमा वर्षको एकपटक भए पनि भुइँ छाड्नुपर्छ र पिङ खेल्नुपर्छ भन्ने धार्मिक तथा सामाजिक मान्यता रहँदै आएको छ । तर लिङ्गे पिङ बनाउन प्रयोग बाबियोको डोरी बाट्न नयाँ पुस्तामा ज्ञान नहुनुले यो परम्परा सङ्कटमा परेको छ । विभिन्न ठाउँहरुमा युवाहरुले पिंङ संस्कृतिलाई जोगाउन प्रयास गरेका छन् । यद्यपी पहिले पहिले जस्तो बाबियोको लठ्ठा भने प्रयोग हुँदैन बजारमा तयारी अवस्थामा आएका डोरीको प्रयोग गरेर युवाहरुले लिङ्गे पिङको संस्कृतिलाई भने निरन्तरता दिने प्रयास गरेका छन् । 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका निर्वतमान अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य नेत्र खड्काको जन्मघर भीरकोट ९ को सिर्कोटमा दशैँको बेला खेलिने लिङ्गे पिङ र पिर्के पिङको रौनकको स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘२० वर्ष जति भयो पिर्के पिङ नराखिएको गाउँका भाई छोराहरुले लिङ्गे पिङलाई भने निरन्तरता दिईरहेका छन् । यस पटक पनि युवाहरुको सक्रियतामा लिङ्गे पिङ राखिएको छ ।’ पिर्को पिङका लागि धेरै मेहेनत र जनशक्ति पनि आवश्यक पर्ने भएकाले आजभोली गाउँघरमा युवाहरु कम भएका कारण पिर्के पिङको संस्कृति हराउँदै गएको खड्काले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा स्थानीय क्लब तथा युवाहरूले परम्परागत लिङ्गे पिङलाई निरन्तरता दिएका छन् । 
भीरकोट ५ कै गडीडाँडामा पनि यसपटक युवाहरुले लिङ्गे राखेका छन् । दशक अगाडि सम्म पिर्के पिङको रौनक हुँने गडीडाँडामा यसपटक पनि लिङ्गे पिङमा बालबालिका रमाईरहेका छन् । स्थानीय अमरबहादुर गाहाले भन्नुभयो, ‘दशैँतिहार भन्ने वित्तिकै यो ठाउँमा छुट्टै रौनक हुन्थ्यो । गाउँमा युवायुवती पिङ खेल्ने, नाटक प्रर्दशन गर्ने हुन्थ्यो आजभोली पनि गडीडाँडामा पहिलाको जस्तो रौनक छैन् ।’ गाउँमा भएका केहि युवाहरुले बजारमा डोरी किनेर भएपनि लिङ्गे पिङ राखेको गाहाले बताउनुभयो । गाउँ रित्तो हुँदै जाँदा परम्परा र पर्वहरु पनि रित्तो जस्तै भएकोे उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...