अहिले तरंगमा

केहि छिनमा

Songs & Add

समाचार

स्याङ्जामा रासायनिक मलको विकल्प बन्दै गड्यौले मलः व्यावसायिक उत्पादनमा बढ्दै आकर्षण

news

 
रेडियो आँधीखोला
वालिङ, ७ कार्तिक । 
खेतीपातीको समयमा हुने रासायनिक मलको अभाव र यसले माटोको उर्वराशक्तिमा पुर्याएको ह्रासका कारण स्याङ्जाका कृषकहरू अर्गानिक तथा गड्यौले मलको प्रयोगतर्फ आकर्षित भएका छन्। अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सूक्ष्म पोषक तत्व पाइने हुँदा रासायनिक मलको भरपर्दो विकल्पको रूपमा गड्यौले मलको प्रयोग र व्यावसायिक उत्पादन बढेको हो ।
समयमै रासायनिक मल नपाउने समस्या टार्न र माटोको स्वास्थ्य बचाउन वालिङमा व्यावसायिक रूपमा गड्यौले मल उत्पादन थालिएको छ । २०७७ सालमा स्थापित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले २०७९ सालदेखि शेयर सदस्य तथा अगुवा कृषकलाई तालिम दिएर गड्यौलापालन तथा मल उत्पादनको व्यावसायिक थालनी गरेको थियो।
सहकारीले वालिङ–८ खेलमैदान नजिकै तीन रोपनी जग्गा भाडामा लिएर ४५ वटा पिटमार्फत मल र बीउ उत्पादन गरिरहेको छ । संस्थाका अध्यक्ष ले.यामबहादुर गुरुङका अनुसार यहाँ मासिक ६ हजार केजी र वार्षिक ६५ हजारदेखि ७५ हजार केजीसम्म मल उत्पादन हुन्छ । यो मल शेयर सदस्यलाई प्रतिकेजी ३० र अन्य उपभोक्तालाई ३५ रुपैयाँमा बिक्री गरिएको छ । यहाँ उत्पादित मल वालिङसहित चापाकोट, भीरकोट, गल्याङ र पाल्पाको रामपुरसम्मका कृषकले लैजाने गरेका छन् भने यसलाई अध्ययन पाठशालाको रूपमा विकास गर्ने योजना बनाइएको छ।
गड्यौलाको मल र बीउ बिक्रीबाट कृषकहरूले दोहोरो आम्दानी लिइरहेका छन्। वालिङ–५ पित्लेकका कृषक एवम् व्यवस्थापक हुमनाथ लामिछानेले तीनवटा पिटबाट वार्षिक ५ हजार केजीभन्दा बढी मल र बीउ उत्पादन गर्दै आउनुभएको छ । त्यस्तै, वालिङ–८ का कृषक फालचन्द्र कोइरालाले पनि रासायनिक मललाई विस्थापित गर्ने उद्देश्यले आफैँ गड्यौलापालन सुरु गर्नुभएको छ । 
स्याङ्जाको वालिङमा सिकेको सीपबाट प्रेरित भएर पश्चिम नवलपरासीको पाल्हिनन्दन–३ का हृदयश बर्माले पनि १२ कट्ठामा काँक्रा खेतीसँगै गड्यौलापालन थाल्नुभएको छ । गड्यौले मलको प्रयोगले आफ्नो काँक्रा खेतीमा उत्पादन दोब्बर भएको उहांको अनुभव छ।
कृषि विकास कार्यालय स्याङ्जाका कृषि अर्थविज्ञ नारायणप्रसाद पाठकका अनुसार रासायनिक मलको अत्यधिक प्रयोगले माटो कसिलो र असारे बनाउने भएकाले माटोको उर्वरता बचाउन गड्यौले मल अति उपयोगी छ । यसले माटोमा चिस्यानको मात्रा कायम राख्नुका साथै खाद्यतत्व बिरुवालाई छिटो पु¥याउँछ।
यहाँ उत्पादन भएको मल तथा बीउ वालिङसहित चापाकोट, भीरकोट, गल्याङ र पाल्पाको रामपुरका व्यावसायिक कृषकले खरिद गरी लैजाने गरेका सहकारीका गड्यौले मल बिक्री शाखाका व्यवस्थापक अनिता कोइरालाले बताउनुभयो । 
पछिल्लो समय गाउँघरमा वस्तुभाउ पाल्ने क्रम घटेसँगै घरबाट निस्कने सड्ने–गल्ने फोहर, गोबर र केराको थाम प्रयोग गरी उत्पादन गरिने गड्यौले मल कृषकका लागि आम्दानीको गतिलो स्रोत बन्दै गएको छ । आलु, गहुँ, तोरी, धान, मकै तथा तरकारीबालीमा प्रयोग हुने यो मललाई सहकारीले प्रशोधन गरी ५, १०, २० र २५ केजीका बोरामा ‘वालिङ गड्यौले मल’को नामबाट बजारमा पठाउँदै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...