समाचार
भयर मन्दिरको साधारण सभा तथा अधिवेशन सम्पन्न
वालिङ, ४ कार्तिक ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १३, मुटु भञ्ज्याङस्थित ऐतिहासिक भयर मन्दिरको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भई यस क्षेत्रको पौराणिक तथा धार्मिक महत्त्व बोकेको उक्त मन्दिरले विभिन्न उतारचढाव पार गर्दै हाल आफूलाई एक उदाहरणीय नमुना मन्दिरका रूपमा स्थापित गर्न सफल भएको छ ।
अधिवेशनका क्रममा मन्दिर व्यवस्थापन समितिले गत एक वर्षको आर्थिक आय–व्यय सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत एक वर्षमा कुल २५ लाख ६२ हजार ५ सय रुपैयाँ आम्दानी भएको छ भने १३ लाख ७७ हजार ५ सय रुपैयाँ खर्च भई ११ लाख ८५ हजार ४ सय ४५ रुपैयाँ बचत भएको छ। यससँगै हालसम्म मन्दिरको कोषमा कुल १३ लाख १८ हजार ५ सय ४५ रुपैयाँ नगद मौज्दात रहेको जानकारी दिइएको छ। उक्त रकम मन्दिरका संरक्षक, सरोकारवाला तथा देश–विदेशमा रहेका दाताहरूबाट प्राप्त चन्दा र अक्षयकोषमार्फत संकलन गरिएको हो।
स्थापना कालदेखि नै मन्दिरमा विभिन्न धार्मिक तथा सामाजिक कार्यहरू निरन्तर सञ्चालन हुँदै आएका छन्। मन्दिरमा जनै पूर्णिमाका दिन जनै मन्त्रने, ऋषि पञ्चमी पर्व मनाउने, नयाँ अन्न भित्र्याएपछि होम–हवन गर्ने, तथा विजया दशमीको अवसरमा नवदुर्गाभर पाठ–परायण, श्रीमद्भागवत कथा वाचन, रुद्री, होम र दैनिक सन्ध्या आरती तथा भजन–कीर्तन गर्ने परम्परा रहँदै आएको छ।
यसैबीच, आज सम्पन्न साधारण सभा तथा अधिवेशनले ईश्वरी प्रसाद गैह्रेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
समितिको उपाध्यक्षमा ईश्वरी प्रसाद गैह्रे, सचिवमा मणि प्रसाद गैह्रे, सह–सचिवमा नगेन्द्र प्रसाद गैह्रे र कोषाध्यक्षमा कृष्ण प्रसाद गैह्रे चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा राधा गैह्रे, पुरन गैह्रे, भगवती गैह्रे र लीला देवी गैह्रे सर्वसम्मत निर्वाचित हुनुभएको छ।