अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आज विजयादशमीः उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

news

 
४, कार्तिक । 
आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ । विशेषगरी रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ ।
विजयादशमीको दिन दुर्गा विसर्जनपछि दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेहरुका लागि १० बजेर २६ मिनेट उत्तम रहेको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । समितिकाअनुसार घटस्थापना गरी जमरा राखेको ठाउँमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ ।
देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज एक दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । साथै केही जाति विशेषले दही र अक्षताका सेतो टीका पनि लगाउने गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...