समाचार
अर्नब चक्रवातको प्रभावः स्याङ्जा लगायत गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन प्रशासनको आह्वान
रेडियो आँधीखोला
वालिङ, ११ कार्तिक ।
बंगालको खाडीमा विकसित भएको अर्नब नामक चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएकोले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वसूचनाको आधारमा प्रशासनले यस्तो आग्रह गरेको हो । यस चक्रवातको प्रभाव आगामी कार्तिक १२ गते बिहीबार रातिदेखि नै देखिने सम्भावना छ ।
विशेष गरी कार्तिक १३ र १४ गते गण्डकी प्रदेश लगायतका भू–भागमा यसको बढी असर पर्ने अनुमान गरिएको छ । यस अवधिमा चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको प्रशासनले जनाएको छ ।
चक्रवातको जोखिमयुक्त जिल्लाहरूको सूचीमा स्याङ्जा पनि परेकोले सम्भावित जोखिम न्यूनीकरण गर्न र पूर्वतयारीमा रहन प्रशासनले सबैमा अनुरोध गरेको छ । धानबाली काट्ने र भित्राउने जस्ता कृषि कार्यहरू कार्तिक १२ गतेअगावै सम्पन्न गर्न, सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नगराउन, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति र परिवारलाई सुरक्षित रहन आग्रह गरेको छ ।
साथै सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस, स्वयंसेवक लगायतका निकायहरूले आम नागरिकलाई जोखिमबारे सुसूचित गराउने, दमकल, एम्बुलेन्स र डोजर जस्ता स्रोत साधनहरूलाई तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राख्न समेत निदेशन दिएको छ ।
नेपाल मौसम विज्ञान विभाग जस्ता आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पछिल्लो पूर्वानुमान र चेताउनीहरूलाई पालना गर्न, आकस्मिक सेवा र जानकारीका लागि मौसमसम्बन्धी ११५५, विपद्मा मद्दत माग्न १२३४ वा १०० वा १११४ सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ ।