समाचार
नेपाली कांग्रेस भीरकोट नगरसमितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान
रेडियो आँधीखोला,
वालिङ १८ कार्तिक ।
नेपाली कांग्रेस भिरकोट नगर समितिको आयोजनामा विजया दशैं, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् को अवसरमा बृहत् शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती तिवारीले नेपाल कांग्रेसले सधैं महिला, युवा र समाजका सबै तह र तप्कालाई समान रूपमा समावेशी गर्दै अगाडि बढेको बताउनुभयो । उहांले भन्नुभयो, æआज देशको राजनीतिमा महिलाहरू केवल सहभागितामा मात्र सीमित छैनन्, उनीहरू हरेक क्षेत्रमा नेतृत्व लिन सक्षम र अब्बल साबित भइसकेका छन्। नेपाली कांग्रेसले नै महिला र युवाहरूलाई नीति निर्माणको तहमा निर्णायक स्थान दिएर समावेशी लोकतन्त्रको गतिलो उदाहरण प्रस्तुत गरेको छ।æ
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कल्पना तिवारी, गण्डकी प्रदेश सांसद महेश भट्टराई, भिरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, पूर्व नगर उपप्रमुख सिमा केसि कर्माचार्य र वडा नं. २ का वडा सभापति खडक बहादुर महत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी, कार्यक्रममा, युवा नेता भागवतप्रकाश मल्ल, महासमिति सदस्य अर्जुन प्रकाश अर्याल, क्षेत्र नं. २ का क्षेत्रिय सभापति अर्जुन प्रसाद खनाल, चापाकोट नगर प्रमुख देव बहादुर खाण, नेपाली कांगे्रस वालिङ नगर सभापति पदम गुरुङ लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टीको पन्ध्रौं महाधिवेशन अन्तर्गत निर्वाचित भएका नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरिएको थियो। भिरकोट नगर सभापति नन्दलाल खनालको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममाथि प्रकाश पार्दै सभापति खनालले चाडपर्वले आपसी सद्भाव, भाइचारा र एकतालाई प्रगाढ बनाउने बताउनुभयो । कार्यक्रमको सञ्चालन नगर सचिव हरि प्रसाद अर्यालले गर्नुभएको थियो ।