समाचार
वालिङ उद्योग वाणिज्य संघद्वारा चाडपर्व लक्षित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला,
वालिङ १८ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा शुभ–दीपावली लगायत विभिन्न चाडपर्वको अवसरमा भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य सरस्वती अर्यालले नेपालीहरुले मनाउने हरेक पर्वको आ–आफ्नो महत्व रहेको भन्दै यस्ता पर्वहरुले नेपालीहरुलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने बताउनुभयो । तिहार दाजुभाई र दिदिबहिनीको सम्बन्धलाई थप मजबुद बनाउने पर्व भएकाले हरेक सम्बन्धहरुलाई सुमधुर बनाउन यस्ता पर्वहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन गौतम, वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरीक्षक प्रताप पौडेल, सशस्त्र प्रहरी बल नं. ३० गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर बस्नेत लगायतका नवआगन्तुक व्यक्तित्वहरु र संघका नव–मनोनित सल्लाहकारहरुलाई समेत स्वागत गरिएको थियो । कार्यक्रममा वक्ताहरुले ब्यवसाय प्रबद्र्धन, शान्ति सुरक्षा, सु–शासन तथा वालिङमा सशस्त्र प्रहरी बलको स्थायित्व हुनुपर्ने र नव–निर्मित अस्पताल शीघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष अनुपमा ढुङ्गाना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विमल अर्यालले गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष शंकर डुम्रेले स्वागत मन्तब्य राख्नुभएको थियो ।