समाचार
चापाकोटमा १० दिने अचार बनाउने तालिम सूरु
रेडियो आँधीखोला
वालिङ, २ मंसिर ।
सुस्केरा फाउन्डेसन नेपालको आयोजनामा चापाकोट नगरपालिका ९ मा रहेको कार्यलयमा अपाङ्गता भएका व्यक्तिहरू तथा स्थानीय महिलाहरूलाई लक्षित गरी १० दिने उद्यमशीलता तथा सीप विकाससम्बन्धी अचार बनाउने तालिम सोमबारबाट सुरु भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित शेरचनले आत्मनिर्भर बन्नका लागि सीप र तालिम आवश्यक रहेको बताउनुभएको छ। उहाँले सीप र तालिमले व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने बताउनुभयो।
कार्यक्रममा गण्डकी प्रदेश सांसद सुनिता थापा, चापाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु), नेपाली कांग्रेस चापाकोट नगर सभापति विक्रम सारु, उद्यमशील महिला नेतृ एवं प्रशिक्षक चन्द्रकला राना तथा समाजसेवी सूर्य माझीलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले सीपमूलक तालिमले महिलाहरू तथा अपाङ्गता भएका व्यक्तिहरूलाई उद्यमशीलतातर्फ अग्रसर गराउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभएको थियो। संस्थाका संस्थापक सदस्य दिपावली शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भुवन भण्डारीले गर्नुभएको थियो।