समाचार
वालिङमा सिर्जनशील लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिकामा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा नगर उपप्रमुख कविता तिवारी (गैह्रे) ले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा पहिचान गर्दै उनीहरूको सिर्जनशीलता र क्षमता विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत थमन सिंह गौतमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, सिर्जनात्मक सोचको विकास तथा लेखन र कलाप्रतिको रुचि अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताअन्तर्गत चित्रकलातर्फ पाइनिअज एजुकेशनल एकेडेमीका विश्व राना प्रथम, बालसिद्ध माध्यमिक विद्यालयका दिपेश शर्मा द्वितीय, पिस जोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमीकी निशिका थापा तृतीय र उपल्लो पेखु माध्यमिक विद्यालयका नमित थापा क्षेत्री सान्त्वना हुनुभएको छ ।
त्यस्तै, सिर्जनशील लेखनतर्फ भूम्रे माध्यमिक विद्यालयका किन्जेल भुर्तेल प्रथम, उपल्लो पेखु माध्यमिक विद्यालयकी समृद्धि पौडेल द्वितीय, सरस्वती माध्यमिक विद्यालयका शंकर न्यौपाने तृतीय र पाइनिअज एजुकेशनल एकेडेमीकी सञ्जना सुनार सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।