समाचार
फेदीखोला गाउँपालिकामा प्रविधिमैत्री सेवा सुरु
वालिङ, ३ मंसिर ।
स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवालाई सरल, शीघ्र र पारदर्शी बनाउने उद्देश्यका साथ स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्रविधिमैत्री तथा सेवाग्राहीमुखी नयाँ अभ्यासको थालनी गरेको छ । सेवा लिन आउने नागरिकले कर्मचारी र शाखा खोज्दै कोठा–कोठा धाउनुपर्ने परम्परागत झन्झटको अन्त्य गर्दै गाउँपालिकाले एकद्वार प्रणालीमार्फत डिजिटल सेवा सुरु गरेको हो ।
नयाँ व्यवस्थाअनुसार कार्यालय पुग्ने सेवाग्राहीलाई सुरुमा गाउँपालिकाको मूल ढोकामा स्वागत गरिन्छ । त्यसपश्चात् सेवाग्राहीले आफ्नो कामको प्रकृति र आवश्यक कागजातसहितको फाइल रिसेप्सनमा बुझाएपछि सम्बन्धित कर्मचारीले नै उक्त फाइललाई आवश्यक शाखा तथा कोठामा पु¥याएर प्रक्रिया अघि बढाउनेछन् । सेवाग्राहीले आफ्नो फाइल कुन शाखामा पुग्यो र कामको प्रगति कति भयो भन्ने जानकारी कार्यालयको तल्लो तलामा राखिएको डिजिटल मनिटरमार्फत सहजै हेर्न सक्ने व्यवस्था मिलाइएको छ । यस प्रणालीले सेवाग्राहीको समय बचत हुनुका साथै सम्बन्धित कर्मचारीको जिम्मेवारी र कार्यसम्पादनसमेत पारदर्शी हुने अपेक्षा गरिएको छ ।
प्रविधिसँगै गाउँपालिकाले सेवाग्राहीको सहजता र मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यालय परिसरमा विभिन्न अतिरिक्त सुविधासमेत विस्तार गरेको छ । काम सम्पन्न हुन केही समय लाग्ने अवस्थामा सेवाग्राहीलाई आरामपूर्वक प्रतीक्षा गर्न सोफाको व्यवस्था गरिएको छ भने अध्ययनमा रुचि राख्नेहरूका लागि ’मिनी लाइब्रेरी’ र आफैँले कफी बनाएर पिउन सक्ने प्रबन्धसमेत मिलाइएको छ ।
यसैगरी, बालबालिकासहित आउने महिला सेवाग्राहीका लागि खेल सामग्रीसहितको छुट्टै बालमैत्री कक्ष तथा स्तनपान गराउनुपर्ने आमाहरूका लागि सहज स्तनपान कक्ष तयार पारिएको छ । टाढाबाट आउने, थकित वा बिरामी अवस्थाका सेवाग्राहीले आराम गर्न सकून् भन्ने उद्देश्यले बेड र बिस्तारासहितको विश्राम कक्षसमेत निर्माण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगुवाइमा सञ्चालित ’प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम’ मार्फत उक्त प्रणाली निर्माण गरी कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहको सेवालाई नतिजामुखी बनाउन यो प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले यो अभियानले सरकारी सेवा लिन शाखा खोज्दै समय खर्चिनुपर्ने बाध्यतालाई प्रविधिमार्फत सहज बनाएको बताउनुभयो । “यस अभ्यासले डिजिटल सुशासन, पारदर्शिता र जवाफदेहिताको नयाँ सम्भावनाको फड्को मार्न सहयोग पुग्ने विश्वास लिएका छौँ,“ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ।
गाउँपालिकाको प्रशासकीय भवनबाट सुरु गरिएको यो अभियान वडा नं. २ को वडा कार्यालयबाट समेत सञ्चालनमा आइसकेको छ । गाउँपालिकाका प्रवक्ता अभिलास गुरुङका अनुसार बाकी रहेका अन्य वडा कार्यालयहरूमा पनि छिट्टै यो प्रविधिमैत्री सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।