समाचार
मर्यादित र सभ्य बन्दैछ होली पर्व
रेडियो आँधीखोला
वालिङ, २३ फाल्गुन ।
पछिल्लो समय रंगहरुको पर्व होली मर्यादित र सभ्य बन्दै गएको छ । नागरिकहरुमा चेतनाको विकास तथा संचार माध्यमहरुको महत्वपुर्ण भुमिकाका कारण होली पर्व सभ्य र मर्यादित बन्दै गएको छ । विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वका दिन मासिनहरु खुला रुपमा हिड्न डराउँथे । बजार पसलहरु पुर्ण रुपमा बन्द गरेर घरभित्र लुकेर बस्नुपर्ने अवस्था थियो तर पछिल्लो समय होलीका दिन बजार पसलहरु समेत सामान्य अवस्थामा देखिन्छन् । वालिङ ८ की शान्ता थापाले विगत सम्झँदै पछिल्लो समय होली पर्वलाई निकै मर्यादित रुपमा मनाउन थालिएको बताउनुभयो ।
थापाले भन्नुभयो, ‘विगत ४, ५ वर्षदेखि होली पर्व सभ्य रुपमा मनाईदै गएको छ । पहिला पहिला होली पर्वको बहानामा महिलालाई अस्वभाविक रुपमा छुन खोज्ने, इच्छा बिना रंग लगाउने, लोला हान्ने, लुकेर बस्ने पानी छयाप्ने कार्यहरु हुन्थ्ये । घर बाहिर निर्धक्क रुपमा हिड्न हामी महिलालाई त निकै गाह्रो थियो । तर अहिले त्यस्तो छैन् । सवारी साधनहरुलाई पनि कुनै रोकावट छैन् ।’ पर्वको नाममा हुने विकृत्ति र विसंगति विस्तारै हराउँदै जान थालेको यहाँका नागरिकहरु बताउँछन् । होली पर्वमा समुह समुह बनाई एक आपसमा खुसी साटासाट गरेर मनाउने गरिएको छ । होलीको नाममा हुने विकृत्ति कम हुँदै गएको पाईएको छ ।
सामाजिक अभियन्ता टिकराज गुरुङले संस्कृतिको नाममा विकृत्ति भित्रन नहुँने बताउनुहुन्छ । फागु पर्वमा एकआपसमा साटिने खुसी र फाउ खेल्ने परम्परालाई जर्गेना गर्दै पर्व मनाउनुपर्ने उहाँको धारणा छ । गुरुङले भन्नुभयो, आजभोली होलीमा उछृंखल, आक्रोशित गतिविधि देखिएको छैन् । पर्व मनाउने शैलि सुसंस्कृति हुँदै गएको छ । मापसे गरेर सवारी चलाउने, जथाभावी स्वास्थ्यलाई असर गर्ने रंगहरु, फोहोर पानीको मिसावट गरी छ्याप्ने उछृंखल गतिविधि हट्दै गएको छ ।’
ट्राफिक कार्यालय वालिङका प्रमुख रेशमबहादुृर थापाको अनुभवमा पनि होली निकै सभ्य हुँदै गएको छ । प्रमुख थापाले भन्नुभयो, ‘सोमबार होलीका दिन हामी दिउँसो भरी बजार तथा चोक चोकमा पुगेका थियोैँ । होली पर्व सभ्य रुपमा मनाएको हामीले भेटेउँ । केहि जातिय तथा सांस्कृतिक महत्वका कार्यक्रमहरु भए पनि मापसे गरेर सवारी चलाउने, सवारी उंल्लघन गर्ने क्रियाकलाप हामीले भेटेनौँ ।’ पछिल्ला वर्षहरुको तुलनामा आजभोली नागरिकहरु सचेत हुँदै गएका कारण पनि पर्व मर्यादित हुँदै गएको प्रमुख थापा बताउनुहुन्छ । संचार माध्यमबाट गरिने प्रचारप्रसारले पनि होली पर्व मर्यादित हुँदै गएको उहाँको भनाई छ ।