समाचार
स्याङ्जामा पशु विमा सम्बन्धी गोष्ठी सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १२ कार्तिक ।
पशु विमा सम्बन्धी सरोकारवालाहरुसंग अन्र्तक्रिया गोष्ठी स्याङ्जामा सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको आयोजनामा बुधबार गोष्ठी गरिएको हो । कार्यक्रममा विमा प्राधिकरण गण्डकी प्रदेशका संयोजक शम्भुप्रसाद मिश्रले सरकारले कृषि तथा पशुका क्षेत्रमा ८० प्रतिशत अनुदान दिएको भन्दै यसमा कृषकलाई धेरै भन्दा धेरै समेटन आवश्यक रहेको बताउनुभयो । बिमा कार्यक्रममा आवद्ध हुँदा देखिएका जटिलता तथा समस्यालाई नेपाल बिमा प्राधिकरणले समाधानको लागि सहजीकरण गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कषि प्रसार अधिकृत अजय अधिकारी, सिखर इन्योरेन्स वालिङका प्रमुख शंकर सुवेदी, वालिङ नगरपालिका पशु साखा प्रमुख डा. रोशन बस्याल, किसान हरि ढकाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी क्षेत्रको व्यावसायिक विकास र कृषकलाई सम्भावित जोखिमबाट बचाउन बीमा प्रिमियममा अनुदानको व्यवस्था गर्दै आएको विषयमा जानकारी गराउँदै कृषकलाई बिमा कार्यक्रममा आर्कषित गर्न गोष्ठीको आयोजना गरिएको कार्यालयले जनाएको छ ।
नेपाल सरकारले पछिल्लो व्यवस्थामा कृषि तथा पशुको ८० प्रतिशतमा प्रिमियम तिर्ने व्यवस्था गरेको भन्दै यसमा कृषकको २० प्रतिशत लागत साझेदारी रहने जानकारी दिईएको थियो । कम लागतमा सुरक्षा हुने ऋण प्राप्तिमा सहजता हुने भएकाले बीमा कार्यक्रममा आवद्ध हुनुपर्नेमा जोड दिईएको थियो । कार्यक्रम कार्यालयका प्रमख डा. रुपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने पशु विकास अधिकृत नरेन्द्रकुमार राईले स्वागत गर्नुभएको थियो ।