समाचार
भिरकोटको बालोदय माविले विद्यार्थीलाई धान रोप्न सिकाएर व्यवहारिक ज्ञानमा जोड
वालिङ, १५ असार ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा अवस्थित बालोदय माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई धान रोप्न सिकाएर व्यवहारिक ज्ञानमा जोड दिएको छ । विद्यालयले राष्ट्रिय धान दिवसको अवसर पारेर अतिरिक्त क्रियाकलाप अन्तर्गत धान रोपाइँ गरेको हो । धान रोपाइँ कार्यक्रम विद्यालयको वार्षिक शैक्षिक कार्यपात्रोमा समावेश गरिएको थियो । व्यवहारिक शिक्षण सिकाइ र कृषिको महत्त्वलाई उजागर गर्ने उद्देश्यले धान रोपाइँ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । नयाँ पुस्तालाई नेपाली सभ्यता, परम्परा र संस्कृतिको बारेमा सिकाउन र उनीहरूले कृषि कर्म नभुलुन भनेर रोपाइँको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अमृत अर्यालले बताउनुभयो ।
प्रिन्सीपल अर्यालले भन्नुभयो, “नेपालको कृषि प्रधान अर्थतन्त्रमा धान उत्पादनले महत्वपूर्ण भूमिका खेल्छ । विद्यार्थीहरूले धान रोप्न जानेपछि, उनीहरूले कृषिको मौलिक प्रक्रिया र यसको महत्त्व बुझ्न सक्छन ्। यसले उनीहरूलाई आत्मनिर्भर बन्ने, कृषि उत्पादनमा योगदान पु¥याउने, र गाउँ समाजमा आर्थिक स्थायित्व ल्याउन मद्दत गर्दछ ।” कृषि शिक्षाले परम्परागत कृषि विधिहरूलाई पुनर्जीवित गर्ने र नयाँ पुस्तालाई आधुनिक कृषि प्रविधि अपनाउन प्रेरित गर्ने विद्यालयको अपेक्षा छ ।
बालोदय मा.वि. स्याङ्जाको यो कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षण सिकाइ र कृषि दुवै क्षेत्रमा ज्ञान प्रदान गर्दै एक अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ । यो पहलले विद्यार्थीहरूलाई कृषि क्षेत्रको महत्त्व बुझ्न र भविष्यमा कृषिमा आधारित उद्यमशीलता अपनाउन प्रेरित गर्ने आशा छ ।