समाचार
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
वालिङ, १८ मंसिर ।
जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ पिपलडालीका ५७ वर्षीय मेग बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।
२०६९ भदौ २७ गते पुतलीबजार –१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मंसिर २३ गते स्याङ्जा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । सजायपछि उनी विदेशतिर लुकेर बस्दै आएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
२०८२ मंसिर १६ गते भुजेल घरबाटै पक्राउ परेपछि बुधबार अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । अदालतको आदेशअनुसार भुजेललाई जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।